कविता : अनन्तदेखि अन्त्यसम्म
अनन्तदेखि बहिरहेका सागर र महासागर,
अनन्तदेखि उदाछन् सूर्य र चन्द्रमा,
अनन्तदेखि मुस्कुराउँछन् सेता हिमशृङ्खला,
अनन्तदेखि रहिरहेको यो पृथ्वी र धरती,
अनन्तदेखि चलिरहेको जीवन र मृत्यु।
यो जन्म-मृत्युमा जन्मिएका मानिस,
विषय र सुख-भोगमा फसेका मानिस,
बुद्धि र विवेकमा हुर्केका हामी मानिस,
रिष, राग, कलह, द्वेष र ईर्ष्याका मानिस,
घमण्डको श्रीपेच लगाएका दुर्बल मानिस।
मानिसले संसारमा धेरै कुरा बनाए,
मानिसले विवेक पुर्याई बुद्धिमान् बनाए,
घण्टामै एक देशबाट अर्को देश पुग्ने बनाए,
के बनाएनन् र? तर मानिसले अमृत बनाएनन्,
जसले मानिसलाई अजर र अमर बनाओस्।
त्यसैले जन्मेका मानिसको अन्त निश्चित छ,
बनेका सबै संरचनाहरू एकदिन भत्किन्छन्,
जन्मेका मानिसहरू एकदिन सबै मर्दछन्,
अन्तमा अन्त हुने सबै कुरा अन्त हुन्छन्,
अन्तमा फेरि तिनै अनन्त कुरा बाँकी रहन्छन्।
चन्द्र, सूर्य, आकाश, धरती, हिमाल, खोला-नदीहरू,
हो, यहाँको रहने-नरहने अन्त र अनन्तको कुरा!
संसारको मेला
हेराैँ, संसारको मेला यहाँ चित्र-विचित्र छ,
मानिस-मानिसबिच पनि कति भेदभाव छ!
ठूला सिंहासनमा बस्छन्, साना झोपडीमा,
कोही पर्दा लगाई बस्छन्, कोही खुला आकाशमा।
कोही असाध्यै धनी, कोही मगन्ते गरिब,
कोही सुती-सुती खान्छन्, कोही सुत्छन् भोकै,
कोही शुभ लग्नमा जन्मेनन्, न त कुनै मुहूर्तमा,
कसरी कोही धनी भए, कोही कसरी गरिबीमा?
रामनाम जपी हिँड्ने सधैँ निर्धन भइरहने,
अरूको भरमा जीवन अर्पी अज्ञानी बनिरहने,
छक्कापञ्जा गरी हिँड्ने, दक्षिणा भनी लुट्ने,
ज्ञानी भन्नेहरू आफ्नो आधिपत्य जमाउने।
लुट्ने मानिस थोरै, लुटिने लाखौँ र करोडौँ,
कस्तो संसारको मेला! खेल छ यहाँ अनेकौँ!
मेला व्यापारको हुन्छ— किनबेच र खरिदको,
मान्छेले चरित्र बेच्छन्, महिला भइकन शक्तिको।
धर्म खोइ कहाँ गयो? चरित्र सब बेचिइगयो,
भाइ-भाइमा काटामार, अभिभावक सब छुट्यो,
व्यभिचार र कुचरित्रले ठाउँ बढाउँदै गयो,
इमान र सत्कर्मको डुङ्गा सागरमा पल्टिँदै गयो।
मानिस सब एक समान यहाँ किन भएनन्?
यो संसारको मेलामा एक रूप किन भएन?
को हो यो मेला रच्ने? कहाँ हेरी बस्तछ?
कसैले नदेख्ने गरी अँध्यारोमा किन लुक्दछ?
कसरी बन्यो यो संसार? मेला किन रचियो?
दुर्जन मानिसको संसारमा किन जन्म भयो?
सबै नासिऊन् दुर्जनहरू, इमान-सत्य सधैँ रहोस,
संसारको गतिशील मेला सधैँ शान्त भइरहोस्।
यो संसारको मेला हो, कोही नडराउनु कत्ति पनि,
बचेकुचेको भए पनि खानु, जति भोक लागे पनि,
आज मेलाको झिलिमिली, भोलि कहाँ जाने हो?
जीवनको खेल-लीला यो, समय परिवर्तन हुने हो।
कोही हाँसेर बसेका छन्, कोही बसेका नाची-नाची,
कोही भोकले छटपटाएका छन्, कोही पिङमा घुमी,
यो जीवन रोटेपिङ हो, यसरी नै आउने-जाने गर्दछ,
सुख-दुःख भन्नु नै के रहेछ! यो बाहिर-भित्र गर्दछ।
सुख के हो, दुःख के हो, थाहा छैन यहाँ कसैलाई,
खाएर दिनरात हाँस्नेहरू ‘सुख यही हो’ भन्छन् यहाँ,
नखाए पनि बाँचिन्छ पानी पिई-पिई यहाँ,
के पिर लिन्छौ हे नरहरू, दुःखले पनि बाँचिन्छ यहाँ!
यो संसारको मेलामा दुःख-सुख भइरहन्छ नै,
संयम, मौन र ध्यानले ईश्वर भेटिन्छ नै,
ईश्वर दाहिना भए कसको के जोर चल्छ र!
डर मान्नुपर्दैन, यो मेला कति दिन चल्छ र?
डर मान्नुपर्दैन, यो मेला कति दिन चल्छ र?
ईश्वरको सृष्टि
ईश्वर! हामीलाई बनाएर के त्यस्तो पुरुषार्थ गर्यौ?
बस, खेल्नका लागि एउटा सामान बनाइदियौ!
ईश्वर! सृष्टि गरेर के त्यस्तो पुरुषार्थ गर्यौ?
आज खेलौनाहरू जीवनभर दुःख पाइरहेछन्।
सुन पुकार, सबै तिमीलाई बोलाइरहेछन्,
मर्ने यो जीवनमा आजसम्म को अजम्बरी छन्?
जन्मिने र मर्ने, आउने र जाने निरन्तर छन्,
चल्ने-फिर्ने चलिरहेछन्, तिमी चलाइरहेछौ,
तिम्रो भित्रको मौनले बेहोस बनाइरहेछ।
माटोको पुतली बनाएर यो मन किन दियौ?
दुःखैदुःखको भाग्यरेखा कोरी किन पठायौ?
दुःखको आगो लागेको सब जगतमा देखेँ,
पीडा सहन नसकी सबै रोएको हेरेँ।
यो जीवनको लाज म कसरी बचाऊँ?
हृदयबाट आएको आँसु कसरी बगाऊँ?
आगो लगाएर तिमी कहाँ लुक्यौ?
संसारलाई यसरी दुःख-पिडा दिई गयौ!
ईश्वर! सृष्टि गरी के त्यस्तो पुरुषार्थ गर्यौ?
खेलौना तिम्रा लागि प्रशस्त बने यहाँ,
आउने आउँदै गर्छन्, जान्छन् फेरि कहाँ!
कहानी तिम्रो ठुलो, कहाँ पढ्न सकिन्छ र!
तिम्रो लीला-चमत्कार कसले बुझ्न सक्छ र!
मुट्ठीभरिको ब्रह्माण्ड कसले जान्न सक्छ र!
सानो भई मनमा बसे पनि कसले देख्न सक्छ र!
जीवनको परिणामले आज शरीर काँपिरहेछ,
किन फेरि भित्र बसी सृष्टिकर्ता नाचिरहेछ?
ईश्वर! अब तिमी गरिदेऊ एक इशारा,
म भएँ किन फेरि तिमीदेखि टाढा-टाढा?
सृष्टि गरी लुकी बस्ने, हामीलाई रुवाउने,
खोइ तिम्रो गुण र दोष- रुवाउने र हँसाउने?
अदृश्य भई कति बस्छौ? शंकारहित भई बस,
यी तिम्रा सन्ततिलाई कहिले त दर्शन दिने गर,
यी तिम्रा सन्ततिलाई कहिले त दर्शन दिने गर।
तारा डुबेको
डुबे सबै ताराहरू, उम्मेदका सहारा सब टुटी गए,
मनभित्र रहेका इच्छाहरू तिमीबाट छुटी गए। १
गीत मिलनको गाउँदा दुनियाँ कति खुसी हुन्छन्,
मायामा कोही बच्न नसकेको फेरि सबै बुझ्दछन्। २
मायावेदनाको लहर सागरमा लहराउँदछ,
किनारा कहाँ हो कुन्नि, आत्तिएर अत्यास आउँदछ। ३
किन डुब्यो तारा आज? आकाश रित्तो भयो,
के भयो नभमा आज? सारा शून्य देखियो। ४
चन्द्रमा एक्लै भइन्, ती तारा कहाँ डुबिसके?
एक्लै ती चन्द्रमा हेरी कति दिन बितिसके! ५
अब त चन्द्रमा पनि रुन थालिन् एक्लै,
कि आकाशमा जाऊँ उनलाई भेट्न छिटै? ६
धरती पनि शून्य छ, तारा डुबेकी छिन्,
कुन हो नौ लाख ताराहरू जन्मेको दिन? ७
कुन सायतमा जन्मे होलान् ती तारा?
कुन सायतमा डुबेका हुन् ती सारा? ८
कहाँ गई झुल्किने होलान् फेरि अर्को देशमा?
आमा छिन् कि छैनन् चन्द्रमा त्यो नभमा? ९
आऊ सब डुबेका तारा, पुनर्जीवन लिई यहाँ,
नरोऊ आँसु पुछ्दै धरधर यो पापी संसारमा। १०
प्रेमको लहरतलामा मायाले कम्मर भाँचदछ,
कमलको फूलगट्टामा भौँरो भुन्भुनाउँदछ। ११
मजुर प्वाँख फैलाई बगैँचामा नाच्दछ,
किन डुबे ती तारा? संसार छक्क पर्दछ,
किन डुबे ती तारा? संसार छक्क पर्दछ। १२
No ads found for this position


Facebook Comment