लघुकथा: रिपोर्टिङ

भूमिका गैरे तिमिल्सिना
३० साउन २०८३ ७:०७

“कस्तो निम्छरो परिवार रहेछ?”

बिहान उठेपछि भेडा-च्याङ्ग्रा चराउन जानुपर्ने, लेक लाग्नुपर्ने बाध्यता हुन्थ्यो। कहाँ जडीबुटी भएको घाँस छ, खोज्थ्यो; वनस्पति र नयाँ पालुवा भएतिर जानुपर्ने हुन्थ्यो, जान्थ्यो पनि। ऊ मिहिनेती, चलाख अनि फुर्तिलो पनि थियो। आफ्ना कुरा मनाउन सिपालु उस्तै। साह्रै गुणी थियो ऊ।

उसलाई ट्रेकिङ मन पर्थ्यो। हिमाल चढ्न, हिउँसँग खेल्न रुचाउँथ्यो। विपन्न परिवारमा जन्मिएको भए तापनि ऊ अत्यन्त तेजिलो र ऊर्जावान् थियो। सधैँ नयाँ कुरा सिक्न र बुझ्न खोज्ने जुझारु थियो।

ऊ र म मिल्ने साथी थियौँ। हामी एकछिन छुट्टिँदैनथ्यौँ। खाँदा, खेल्दा, पढ्दा, बस्दा जतिबेला पनि सँगै हुन्थ्यौँ। मैले सोच्थेँ, “यदि उसले अनुकूल वातावरण पायो भने केही त पक्कै गर्छ, कुलको नाम राख्छ केटाले।” भन्नेमा म विश्वस्त थिएँ।

ऊ गरिबीले गर्दा सहर जान बाध्य भयो। उमेर सानो थियो, झट्ट हेर्दा खाइलाग्दो देखिन्थ्यो। बुझेँ- होटलमा काम पाएछ, थोरबहुत पढेको पनि थियो रे! मैले सोधखोज गरेँ, “के गर्छ, कहाँ बस्छ?” आदि-इत्यादि।

छिमेकीले भन्दै थिए, “अहिले गजबको भएको छ, पर्यटनको ज्ञान लिएको छ। हिमालको ट्रेकिङमा जान्छ- घरि पर्यटक लिएर त घरि एक्लै चढ्छ हिमाल। पैसा राम्रो कमाएको छ। घर, गाडी, व्यवसाय सबै बन्दोबस्त छ। देश-विदेश घुमेको छ, आनन्द छ।” उनले सर्सती बताए, बयान गरेर थाकेनन्।

उसको विगत सम्झिएँ, आजका प्रगति सुनेँ, दाँजेँ र रोमाञ्चित भएँ। लाग्यो, “कामप्रतिको लगाव, धैर्य र निरन्तरता ठुलो रहेछ। जस्तोसुकै पृष्ठभूमि वा कठिन परिस्थिति भए पनि क्षमता र लगनशीलताले लक्ष्य पहिल्याउन सकिँदो रहेछ।” आश्चर्य लाग्यो, खुसी भएँ, मनमनै स्याबासी दिएँ।

केही बेरमा खबर सुनियो, अत्यन्तै दुःखद थियो। सम्हाल्न गाह्रो भयो। मन धमिलो भयो, पत्याउन सकिनँ। केही साहस जुटाएँ र कम्पित आवाजमा बोलेँ, “ऊ रहेन अब! हिमाल आरोहणका क्रममा हिउँपहिरोमा परेर निधन भयो- जसको रिपोर्टिङ म आफैँ गर्दै थिएँ।”

लघुकथा: शोकाकुल

“अपत्यारिलो खबर आयो।”

को हो, के हो? चासोको विषय बन्यो, सोधखोज भयो। कसैले “ए…!” भन्दै टाउको हल्लाए भने कोही अनजान रहे, पऱ्याकपुर्लुक नजर दौडाए। जान्नेले वृत्तान्त बताए, परिचय दिए र सबैको उत्सुकता शान्त पार्दै थिए।

सीता एक्कासि भक्कानिएर रोई। सबैको ध्यान उसैतिर गयो। नजिक गए, सम्झाउने प्रयास गरे, सान्त्वना दिए। एक वृद्धले अनेक प्रसङ्ग जोडे। उनी भन्दै थिए, “यो चक्र हो, निरन्तर घुम्छ। समय सबैको आउँछ, ढिलो-चाँडो मात्र हो। नरोऊ, रोइहाल्ने होइन।” उनी लाचार थिए।

एक महिलाले सम्झाउँदै बोलिन्, “नुन बार्नुपर्छ, पुरै बार। दुईजिउकी छौ, नसके सिँधेनुन ल्याएर खानु, स्वास्थ्यको ख्याल गर्नुपर्छ है!” विचार गरिन् अनि विस्तारै भनिन्।

आफ्नै दाजु पर्ने रहेछन्। सँगै हुर्के-बढेको याद आयो होला, नरोओस् पनि कसरी? फेरि ती महिलाले भनिन्, “मन हल्का हुन्छ, भो छोड, आफ्नो मन आफैँ बुझाउँछे। हावा आउन देऊ त, खै-खै!” उनले भिड पन्छाइन्।

सीताले भाउजूसँग बिलौना कही। गाउँमा दाजुसँग बिताएका हरेक पल स्मरण गरी। भनी, “सँगै स्कुल जाने-आउने, गोठालो, घाँस-दाउरा, पँधेरो गर्दा एकछिन छुट्टिँदैनथ्यौँ। नाताले दाइ परे तापनि साथी थियौँ हामी।” उसले विगत कोट्याई।

फेरि भनी, “पत्याउन गाह्रो भयो, अझै पनि विश्वास लाग्दैन। कसरी जानू गाउँ पनि?” उसले दुखेसो पोखी।

भाउजूले सान्त्वना दिँदै भनिन्, “हरेस खानु हुँदैन, मन कमजोर नबनाउनू, विस्तारै समयले घाउ निको पार्छ। यो अवस्थामा आत्तिनु हुँदैन।” सम्झाइन्, कामको हतारो देखाइन् र गइन्।

बेलुका खबर आयो, “तिम्री नन्द रहिनन्।”

उनी स्तब्ध रहिन्। छाती पिटेर रुँदै बर्बराईन्, “अरूका कुरा खुबै गरेकी थियौ, आफ्नै दिन आएको रहेछ! अब तिम्रा बयान कोसँग सुनूँ, खोइ?” उनी शोकाकुल भइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *