जोखिमपूर्ण ड्युटी र सीमित वृत्तिविकास: १६ वर्षे ऐच्छिक अवकाशको पर्खाइमा तल्लो तहका प्रहरी

डिसी नेपाल
२६ साउन २०८३ ११:४४

काठमाडौं। नेपाल प्रहरीका तल्लो तहका कर्मचारीले १६ वर्ष सेवा पूरा गरेपछि पेन्सनसहित ऐच्छिक अवकाश लिन पाउने व्यवस्था तत्काल लागू गर्न माग गरेका छन्।

जवानदेखि वरिष्ठ हवल्दारसम्मका प्रहरी कर्मचारीले लामो समयदेखि उठाउँदै आएको यो मागलाई प्रहरी ऐन तथा नियमावली संशोधनमार्फत सम्बोधन गरिनुपर्ने उनीहरूको भनाइ छ। १६ वर्षे पेन्सनको विषयमा पटक-पटक छलफल र आश्वासन पाए पनि हालसम्म कानुनी रूपमा कार्यान्वयन हुन नसकेको उनीहरूले बताएका छन्।

तल्लो तहका प्रहरी कर्मचारी २४ घण्टा नै ड्युटीमा खटिनुपर्ने तथा लामो समयसम्म कठिन र जोखिमपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले १६ वर्ष सेवा पूरा गरेपछि सम्मानजनक रूपमा अवकाश लिन पाउने कानुनी व्यवस्था आवश्यक रहेको उनीहरूको तर्क छ।

हालको प्रहरी नियमावलीअनुसार पेन्सन सुविधासहित ऐच्छिक अवकाश लिन कम्तीमा २० वर्ष सेवा अवधि पूरा गर्नुपर्ने हुन्छ। २० वर्ष नपुग्दै सेवा छाड्दा पेन्सन सुविधा नपाइने भएकाले कठिन परिस्थितिका बिच कतिपय कर्मचारीले बिनाकुनै सुविधा बीचमै राजीनामा दिनुपर्ने बाध्यता रहेको उनीहरूले उल्लेख गरेका छन्।

यस्तै, तल्लो तहमा पदोन्नतिको अवसर सीमित हुँदा लामो समय एउटै पदमा थन्किनुपर्ने अवस्था रहेको भन्दै १६ वर्षे ऐच्छिक अवकाशको व्यवस्था लागू भए माथिल्लो दर्जामा वृत्तिविकास सहज हुनुका साथै नयाँ जनशक्तिका लागि समेत नयाँ अवसर सिर्जना हुने उनीहरूको दाबी छ।

तल्लो तहका कर्मचारीहरूले १६ वर्षे पेन्सनसम्बन्धी मागलाई अब बन्ने प्रहरी ऐनमै समावेश गरी तत्काल कार्यान्वयनमा ल्याउन सरकारसँग पुनः आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *