फेकण्डो भिर चर्किएर पहिरो खस्न थालेपछि दोसल्लेका नौ घरपरिवार विस्थापित

डिसी नेपाल
२६ साउन २०८३ १३:००

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको फेकण्डो भिर चर्किएर पहिरो खस्न थालेपछि फेदीमा रहेको दोसल्लेका नौ घरपरिवार विस्थापित भएका छन्। पहिरोको जोखिम बढेपछि थप १८ घरपरिवार पनि संकटमा परेका छन्।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार उच्च जोखिममा रहेका दोसल्लेको भिरखाल्टा टोलका नौ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। “जनप्रतिनिधि, सुरक्षा अधिकारी र स्थानीयवासीको टोलीले अनुगमन गर्दा चर्किएको फेकण्डोको भिर जुनसुकै समयमा खस्न सक्ने आँकलन गरियो,” गाउँपालिका अध्यक्ष पुनले भने, “थप क्षति हुन नदिन उच्च जोखिममा रहेका परिवारका गाईवस्तुसहित घरका सामग्रीसमेत सुरक्षित ठाउँमा सारिएको छ।”

अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष मइलन पुर्जा पुनका अनुसार रामचन्द्र पुर्जा, शेरप्रसाद पाइजा, विजय पुर्जा, हर्कवीर गर्बुजा, दुतबहादुर पुन, कृष्णबहादुर पुन, सोहनसिंह पुन, हेमबहादुर पुन र रेबहादुर पुनको परिवारलाई स्थानान्तरण गरिएको हो।

केही दिनअघि भिर चर्किएर पहिरो खस्न थालेपछि स्थानीय प्रेमबहादुर पाइजा, खगवीर पाइजा, शेरप्रताप पाइजा र वडा सदस्य बुद्धिवीर पुनको टोलीले फेकण्डो भिरको निरीक्षण गरी गाउँपालिका र जिल्ला प्रशासनलाई जानकारी गराएका थिए।

सूचना पाएपछि गाउँपालिका अध्यक्ष पुन, उपाध्यक्ष दिवा तिलिजा पुन र प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यसहितको टोलीले जोखिमयुक्त क्षेत्रको अनुगमन गरेको छ। टोलीले ‘ड्रोन’ क्यामेरा प्रयोग गरी पहिरोको अवस्थाबारे अध्ययन गर्नुका साथै भूगर्भविद्को टोलीमार्फत विस्तृत अध्ययन गराउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिफारिस गरेको छ।

पहाडको शिरमा फेकण्डो भिर छ भने त्यसको मुनि दोसल्ले बस्ती र फेदीमा कालीगण्डकी नदी किनारमा रघुगङ्गा गाउँपालिका-१ को तिप्ल्याङ बजार रहेको छ। दोसल्लेका ६९ वर्षीय जितबहादुर पुर्जाले बाल्यकाल र युवावस्थामा हिँडडुल गरेको उक्त पहाडमा यसअघि कहिल्यै चिरा परेको नदेखेको बताए।

“हामी घाँसदाउरा गर्दा यही फेकण्डो भिरको बाटो ओहोरदोहोर गर्थ्यौँ,” पुर्जाले भने, “अहिले पहाड चिराचिरा परेर खस्न थालेपछि सिङ्गो गाउँमा त्रास फैलिएको छ।”

विस्थापित स्थानीय रामचन्द्र पुर्जाका अनुसार भिरबाट खसेको ढुङ्गा सोझै घर र आँगनमा आइपुग्ने भएकाले सामान सारेर माथिल्लो दोसल्लेमा रहेको गोठमा बस्न थालिएको छ। उनले पानी नपरेको समयमा दिउँसो मात्र सुन्तला बगैँचा गोडमेल गर्न जाने गरेको बताए।

पहिले कहिल्यै पहिरो नगएको उक्त ठाउँमा यसपटक नयाँ पहिरो सिर्जना भएको हो। पहिरोका कारण दोसल्लेको भिरखाल्टा टोलमा रहेका सुन्तला बगैँचासमेत जोखिममा परेका छन्। भिरबाट पहिरो खसेमा तिप्ल्याङस्थित कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक र दोसल्ले हुँदै हिस्तान-राम्चे जोड्ने ग्रामीण सडकमा समेत ठुलो क्षति पुग्ने वडाध्यक्ष पुर्जाले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *