अम्बिकाको विरासत, युविकाको नयाँ सोच : नाट्टा नेतृत्वमा महिला अनुहार

डिसी नेपाल
२६ साउन २०८३ २०:३४

काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्वमा महिला सहभागिताको इतिहास पुरानो छ।

नाट्टाको पहिलो महिला अध्यक्षका रूपमा अम्बिका श्रेष्ठले नेतृत्व सम्हाल्दै महिलाहरू पनि पर्यटन क्षेत्रको सर्वोच्च नेतृत्व तहमा पुग्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेकी थिइन्।

अहिले त्यही इतिहासलाई निरन्तरता दिँदै नयाँ पुस्ताकी युविका भण्डारी नाट्टा अध्यक्ष पदको दौडमा अगाडि आएकी छन्। युविका भण्डारी नाट्टाको नेतृत्वका लागि बाहिरबाट आएको नयाँ अनुहार भने होइनन्।

उनले लामो समयदेखि नाट्टाभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै संस्थाको काम, सदस्यका समस्या र पर्यटन व्यवसायका चुनौतीलाई नजिकबाट बुझ्दै आएकी छन्। त्यसैले उनको उम्मेदवारीलाई वर्षौंको अनुभव र निरन्तर सेवाको परिणामका रूपमा हेरिएको छ।

भण्डारीले ‘पर्यटन उठे, नेपाल उठ्छ’ भन्ने मूल अवधारणासहित आफ्नो अभियान अघि बढाएकी छन्। नेपालको अर्थतन्त्रमा पर्यटनको योगदान बढाउन निजी क्षेत्र, सरकार र पर्यटनसँग सम्बन्धित विभिन्न संस्थाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको धारणा छ।

पछिल्लो समय पर्यटन व्यवसाय प्रविधि, डिजिटल प्रणाली, अन्तर्राष्ट्रिय कनेक्टिभिटी र बदलिँदो पर्यटकको मागसँगै तीव्र रूपमा परिवर्तन भइरहेको छ। यस्तो अवस्थामा नाट्टालाई केवल व्यवसायीका समस्या उठाउने संस्थाका रूपमा मात्र नभई समस्या पहिचान गरेर समाधानका लागि पहल गर्ने, सदस्यलाई प्रविधिमार्फत जोड्ने र सरकारसमक्ष तथ्य तथा अध्ययनसहित प्रभावकारी पैरवी गर्ने संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको भण्डारी पक्षको जोड छ।

उनले नाट्टाको डिजिटल पूर्वाधार विकास, सदस्यका गुनासो छिटो सम्बोधन गर्ने प्रणाली, पर्यटन संस्थाबीच सहकार्य, सरकार र निजी क्षेत्रबीच समन्वय तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखेकी छन्। साथै वेलनेस टुरिजमजस्ता नयाँ सम्भावनाको अध्ययन तथा पर्यटन व्यवसायमैत्री नीति निर्माणका लागि निरन्तर पैरवी गर्ने उनको एजेन्डा छ।

नाट्टामा महिला नेतृत्वको इतिहासलाई हेर्दा अम्बिका श्रेष्ठले सुरु गरेको यात्राले अहिले नयाँ पुस्तासम्म निरन्तरता पाउने सम्भावना देखिएको छ। यद्यपि युविका भण्डारीको उम्मेदवारीलाई केवल महिला प्रतिनिधित्वको विषयमा सीमित नगरी उनको अनुभव, नेतृत्व क्षमता, कार्ययोजना र पर्यटन क्षेत्रप्रतिको दृष्टिकोणका आधारमा मूल्यांकन गर्नुपर्ने देखिन्छ।

नाट्टाको आगामी नेतृत्व चयनलाई व्यवसायीहरूले संस्थाको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरेका छन्। अनुभवसँग नयाँ ऊर्जा, परम्परासँग प्रविधि र संस्थागत निरन्तरतासँग परिवर्तनलाई जोड्ने लक्ष्यसहित युविका भण्डारीको उम्मेदवारीले नाट्टाको निर्वाचनलाई थप रोचक बनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *