कर्णालीकी ‘जेठी आमा’ शाहीको ११७ वर्षको उमेरमा निधन
कर्णाली । कर्णाली ‘जेठी आमा’ भनेर चिनिने कालु शाहीको ११७ वर्षको उमेरमा निधन भएको छ। तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँ निवासी शाहीलाई स्थानीयस्तरमा कालु जेज्या (कालु जेठी आमा) पनि भन्ने गरिन्थ्यो।
विसं १९६६ मा सोही वडाको नुवाकोट गाउँमा जन्मिएकी शाहीको उनकै निवासमा सोमबार निधन भएको स्थानीय ८३ वर्षीय ज्येष्ठ नागरिक वीरबहादुर सिंहले जानकारी दिए । सिंहका अनुसार एकल जीवनबाट सङ्घर्ष गर्दै आएकी उनले ६७ वर्षअघि आफ्नो पति गुमाएकी थिइन्। दुई छोरामध्ये जेठो मानसिंह शाहीको २० वर्ष, छोरी राजु शाहीको १३ वर्ष र कान्छो छोरा धनमल शाहीको सात वर्षअघि निधन भएको थियो।
पति, एक छोरी र दुई छोराको विछोडको वियोगलाई शक्तिमा बदलेर जीवन चलाउँदै आएकी शाही दुई दिनको ज्वरो रोगबाट मृत्यु भएको उनका नाती लङ्कबहादुर शाहीले बताए। आफ्नो जीवनकालमा नाति, पनाति र जनातिसम्म देखेर ११७ वर्षको उमेरमा देहत्याग गर्ने शाही कर्णालीको इतिहासमा सबैभन्दा जेठो महिला भएको बताइएको छ।
कूल ४६ वर्ष आयु भएका कर्णालीका नागरिकहरूमा शाही लामो आयु लिएर बाँच्ने पहिलो महिला हो। शाहीको सोमबार नै दाहसंस्कार गरिएको नाती लंकबहादुरले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment