पोखरामा मोटरसाइकल दुर्घटना : एक युवकको मृत्यु, चालक घाइते
पोखरा । पोखरा–बागलुङ सडकखण्डअन्तर्गत पोखरा–२५, हेम्जामा मंगलबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
घट्टेखोलाबाट पोखरातर्फ आउँदै गरेको ग १४ प २५१७ नम्बरको मोटरसाइकल दिउँसो १ बजे हेम्जाको म्याग्दीचोकमा तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलका पछाडि सवार म्याग्दीको धौलागिरि गाउँपालिका–२, लुलाङ निवासी १६ वर्षीय अनिल विकको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा दिउँसो २ बजेर १० मिनेटमा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
त्यस्तै, दुर्घटनामा मोटरसाइकल चालक म्याग्दीको धौलागिरि–२, लुलाङकै १८ वर्षीय दिनेश विक गम्भीर घाइते भएका छन्। उनको बायाँ खुट्टा, बायाँ आँखा र मुखमा चोट लागेको छ भने उनी हाल बोल्न सक्ने अवस्थामा रहेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको खुलेको छ। दुर्घटनामा परेको मोटरसाइकललाई अस्थायी प्रहरी पोस्ट, हेम्जाले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment