युवा उद्यमशीलता र रोजगारीमा केन्द्रित भएर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
काठमाडौं। विभिन्न सचेतनामूलक तथा प्रोत्साहनमूलक कार्यक्रमहरूको आयोजना गर्दै आज देशभर भव्य रूपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ।
यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसका लागि ‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल नारा तय गरिएको छ। समाज र राष्ट्र निर्माणमा युवा वर्गको भूमिका तथा महत्त्वलाई उजागर गर्ने मुख्य उद्देश्यका साथ यो दिवस मनाउने गरिएको हो। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि हरेक वर्ष अगस्ट १२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको हो।
अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको मुख्य ध्येय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस र पैरवी सञ्चालन गर्नुका साथै नीति निर्माण एवं त्यसको कार्यान्वयनको तहमा युवाहरूको सक्रिय सहभागिता अभिवृद्धि गर्नु रहेको छ।
यसका साथै युवाका क्षेत्रमा साझेदारी र लगानी बढाउने, युवामैत्री शासन व्यवस्थाको प्रवर्द्धनमा सहयोग पुर्याउने र युवा केन्द्रित सरकारी, गैरसरकारी तथा निजी संघ-संस्थाहरूबीच आपसी सहकार्य र साझेदारी बलियो बनाउनु पनि यस दिवसको उद्देश्य हो।
दिवसका अवसरमा आज काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा एक विशेष मूल समारोहको आयोजना गरिएको छ। उक्त समारोहमा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायसँग सम्बन्धित विशेष प्रदर्शनीसमेत राखिनेछ।
यसैगरी, दिवसको सुरुआत स्वरूप बिहान भृकुटीमण्डपदेखि मूल समारोहस्थल कमलादीसम्म ‘युवा जागरण दौड’ आयोजना गरिँदैछ। मूल समारोहका क्रममा नेपालमा युवा उद्यमशीलता र रोजगारी प्रवर्द्धनका विविध आयामबारे उच्चस्तरीय प्यानल छलफलसमेत सञ्चालन हुनेछ।
यो दिवस युवा जागरणको दिशामा एक विश्वव्यापी र साझा अभियानका रूपमा स्थापित भएको छ। यसले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा युवा केन्द्रित नीतिगत बहस गर्ने र नीति निर्माण एवं कार्यान्वयनमा युवा सहभागिता र साझेदारी बढाउने प्रेरणा प्रदान गर्दै आएको छ।
साथै सांस्कृतिक, भौगोलिक, भाषिक, शारीरिक तथा प्रविधिजन्य विविधताका बाबजुद एकता र पारस्परिकता प्रवर्द्धनमा सबै मिलेर हातेमालो गर्दै अघि बढ्ने संकल्प पनि यस अवसरमा व्यक्त गरिँदै आएको छ।
दिवसको विशेष अवसर पारेर सूचना प्रविधि उद्यमी तथा ‘स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कार’बाट ६ वटा उत्कृष्ट व्यवसायलाई पुरस्कृत गरिँदैछ। त्यसैगरी देशका सातै प्रदेशका उदयीमान युवा उद्यमीहरूलाई पनि कार्यक्रममा सम्मान तथा पुरस्कृत गर्ने कार्यसूची रहेको छ।
यसअघि राष्ट्रिय युवा परिषद्का अध्यक्ष एवं युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा गत साउन १ गते बसेको बैठकले दिवसलाई देशभर भव्यताका साथ मनाउने निर्णय गरेको थियो।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या एक करोड २४ लाख १२ हजार १७३ रहेको छ, जुन कुल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत हो। मानव जीवनमा युवा अवस्थालाई अत्यधिक जोश, जाँगर, सिर्जनशीलता, उत्साह र शक्तिको प्रतीक उमेर समूहका रूपमा लिने गरिन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment