धनगढीमा मलको अभाव कायमै, आवश्यक कोटाको १७ प्रतिशत मात्रै डिएपी उपलब्ध
डिसी नेपाल
२७ साउन २०८३ ९:००
धनगढी। धानखेतीका लागि मलको माग बढिरहेका बेला सुदूरपश्चिममा रासायनिक मलको आपूर्ति अझै पर्याप्त हुन सकेको छैन। धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले साउन १ गतेदेखि २६ गतेसम्म ठूलो परिमाणमा मल बिक्री गरे पनि आवश्यक कोटाको तुलनामा मौज्दात तथा बिक्रीको मात्रा निकै कम देखिएको छ।
कम्पनीका अनुसार उक्त अवधिमा एक हजार २८७.७ मेट्रिक टन युरिया, २९५.७ मेट्रिक टन डिएपी र ३३.२५ मेट्रिक टन पोटास बिक्री भएको छ।
कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका प्रबन्धक नवलसिंह बोगटीका अनुसार धानखेतीका लागि आवश्यक मल किसानसम्म पुर्याउन कम्पनीले सहकारी तथा कृषि सामग्री बिक्री केन्द्रमार्फत मल वितरण गर्दै आएको छ।
धान रोपाइँ तथा खेतीको मुख्य समयमा मलको माग स्वाभाविक रूपमा बढ्ने भएकाले उपलब्ध मललाई प्राथमिकताका आधारमा किसानसम्म पुर्याउने गरिएको उनले बताए। तर, मागको तुलनामा आपूर्ति अझै पर्याप्त हुन नसकेको कम्पनीले जनाएको छ।
धनगढीका लागि युरियाको आवश्यक कोटा एक हजार ९४७.७०५ मेट्रिक टन र डिएपीको एक हजार ९१५.८१५ मेट्रिक टन रहेको छ।
हालको बिक्रीपछि कम्पनीसँग ११०.२५० मेट्रिक टन युरिया, ३१ मेट्रिक टन डिएपी र ९३.६५० मेट्रिक टन पोटास मौज्दात रहेको छ।
बिक्री भएको परिमाण र हालको मौज्दात जोड्दा कम्पनीसँग युरिया एक हजार ३९७.९५५ मेट्रिक टन र डिएपी ३२६.७ मेट्रिक टन बराबर रहेको छ।
आवश्यक कोटासँग तुलना गर्दा बिक्री तथा मौज्दातमा रहेको मलमध्ये युरिया करिब ७२ प्रतिशत पुगेको छ भने डिएपी करिब १७ प्रतिशत मात्रै रहेको छ। यसले विशेषगरी डिएपीको आपूर्ति अवस्था कमजोर रहेको देखाएको छ।
कम्पनीको विवरणअनुसार आवश्यक कोटाको तुलनामा युरिया ५४९.७५५ मेट्रिक टन र डिएपी एक हजार ५८९.११५ मेट्रिक टन कमी रहेको छ।
धानखेतीका लागि मलको माग उच्च रहेको समयमा डिएपीको आपूर्ति कमजोर हुँदा किसानले आवश्यक मल पाउन समस्या भोगिरहेका छन्। किसानको मागअनुसार समयमै मल उपलब्ध गराउन आपूर्ति बढाउनुपर्ने आवश्यकता देखिएको छ।
Facebook Comment