बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तारका लागि हेलिकप्टरबाट उपकरण ढुवानी
काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको विशेष निर्देशनपछि बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारको कामले गति लिएको छ।
भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट सामान पुर्याउन कठिन भएपछि नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार सञ्चार उपकरण तथा आवश्यक सामग्री जडानस्थलमा पुर्याएको हो।
सञ्चारमन्त्री तिमिल्सिनाले गत साउन ८ गते दुर्गम तथा पर्यटकीय क्षेत्रमा सञ्चार पहुँच बढाउने नीतिअनुसार बडीमालिकामा तत्काल सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका थिए।
मन्त्रीको निर्देशनपछि मन्त्रालयले टेलिकमसँग निरन्तर समन्वय गर्दै पूर्वाधार निर्माण र उपकरण ढुवानीलाई तीव्रता दिएको हो।
यसै क्रममा मन्त्री तिमिल्सिनाले बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्कासँग स्थानीय तहको सहयोग, पूर्वाधार जडानका लागि उपयुक्त स्थान र सडकको अवस्थाबारे छलफल गरी स्थलमार्ग असम्भव देखिएकाले हेलिकप्टर प्रयोग गर्न निर्देशन दिएका थिए।
नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माका अनुसार साउन १८ गतेदेखि नै सामग्री बडीमालिका पुर्याउने प्रयास गरिए पनि हिमाली क्षेत्रको प्रतिकूल मौसमका कारण उडान हुन सकेको थिएन।
मङ्गलबार हेलिकप्टरमार्फत मुख्य स्थानसम्म सामग्री पुर्याइए पनि त्यहाँबाट वास्तविक जडानस्थलसम्म करिब चार हजार किलोग्राम उपकरण जनशक्तिमार्फत बोकाएर लैजानुपर्ने चुनौती बाँकी नै छ।
यसका लागि बडीमालिका र त्रिवेणी नगरपालिकाका प्रमुखहरूसँग समन्वय भइरहेको र सबै सामग्री जडानस्थलमा पुगेको करिब पाँच दिनभित्र साइट सञ्चालनमा ल्याउने टेलिकमको तयारी छ।
समुद्री सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको बडीमालिका मन्दिर क्षेत्रमा धार्मिक तथा आन्तरिक-बाह्य पर्यटकको आवगमन बढ्दै गए पनि भरपर्दो सञ्चार सुविधा थिएन।
यसअघि साउन ३० गतेभित्रै सेवा सुरु गर्ने लक्ष्य राखिए पनि खराब मौसम र कठिन भूगोलका कारण केही दिन ढिलाइ भएको टेलिकमले जनाएको छ। प्रारम्भिक चरणमा त्यहाँ ४जी सेवा सञ्चालन गर्ने तयारी गरिएको छ।
टेलिकमले बडीमालिकासँगै सगरमाथा आधार शिविर क्षेत्रमा पनि ४जी सेवा विस्तारका लागि अध्ययन अघि बढाएको छ। यसअघि नै डोल्पाको त्रिपुरासुन्दरी र दुनै क्षेत्रमा करिब तीन हजार नौ सय मिटर तथा ताप्लेजुङको ओलाङचुङगोलामा तीन हजार चार सय मिटर उचाइमा ४जी सेवा सञ्चालन भइसकेको छ।
सरकारले डिजिटल विभाजन घटाउने र दुर्गम क्षेत्रलाई राष्ट्रिय सञ्चार सञ्जालमा जोड्ने लक्ष्यअनुसार देशभर करिब एक हजार छ सय नयाँ मोबाइल टावर निर्माण प्रक्रिया अघि बढाएको छ, जसका लागि चालु आर्थिक वर्षमा टेलिकमले ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment