साढे पाँच महिनापछि आज स्वदेश फर्किँदै देउवा: विमानस्थलमा शक्ति प्रदर्शनको तयारी
काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज (बिहीबार) साढे पाँच महिना लामो विदेश बसाइ र उपचारपछि स्वदेश फर्किँदै छन्।
‘जेन-जी’ आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवास बूढानीलकण्ठमा प्रदर्शनकारीको आक्रमणमा परी गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्री देउवा १३ फागुनमा उपचारका लागि सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए।
सिंगापुरमा प्रारम्भिक उपचार गराएपछि देउवा ७ चैत २०८२ मा थप उपचारका लागि हङकङ पुगेका थिए। हङकङको उपचार प्रक्रिया सकिएपछि थाइल्यान्डको बैंकक पुगेका देउवा आज थाई एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यान्ह अवतरण गर्ने कार्यक्रम तय भएको छ।
देउवाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ठूलो संख्यामा नेता तथा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने तयारी मिलाइएको छ।
खासगरी कांग्रेसको संस्थापनइतर समूहका नेताहरू देउवाको आगमनलाई विशेष शक्ति प्रदर्शनको रूपमा उपयोग गर्ने रणनीतिमा छन्। निवर्तमान सभापति देउवाको स्वागतका लागि राष्ट्रिय भेला आयोजक समितिका सम्पूर्ण नेताहरू विमानस्थल पुग्ने जानकारी भेला आयोजकको प्रचारप्रसार उपसमिति संयोजक मीन विश्वकर्माले दिएका छन्।
प्रचार उपसमितिका संयोजक विश्वकर्माका अनुसार, “देउवालाई स्वागत गर्न राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेताहरू विमानस्थलमा पुग्नेछन्।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहितका पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूसहितको ठूलो समूह स्वागतका लागि विमानस्थल पुग्दैछौँ।” पार्टीका शीर्ष नेताहरूले देउवालाई विमानस्थलको विशिष्ठ अतिथि कक्ष (भीआईपी लाउन्ज) मा नै पुगेर स्वागत गर्नेछन्।
त्यसलगत्तै विमानस्थलमै देउवाले सञ्चारकर्मीहरूसँग संक्षिप्त मिडिया साक्षात्कार गर्ने कार्यक्रम छ। देउवाको स्वागतका लागि मात्रै पाँच हजारभन्दा बढीको संख्यामा नेता तथा कार्यकर्ताहरू विमानस्थल पुग्ने दाबी गरिएको छ।
देउवाको भव्य स्वागत तथा सुरक्षा व्यवस्थापनका लागि नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूसँग समन्वय गर्ने जिम्मेवारी तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेत र युवा नेता कुन्दन काफ्लेलाई सुम्पिइएको छ।
विमानस्थलबाट देउवालाई स्वागत गर्दै नेता–कार्यकर्ताले चुनदेवीस्थित निवाससम्मै बाजागाजासहित स्कर्टिङ गरेर लैजानेछन्। यसका लागि काठमाडौँ, ललितपुर र भक्तपुरका कार्यकर्तालाई पार्टीको झण्डा र देउवाको तस्बिरसहित बिहानैदेखि विमानस्थलमा उपस्थित हुन निर्देशन दिइएको छ।
नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतका अनुसार देउवा आज मध्याह्न १२ बजे नेपाल आइपुग्ने निश्चित भए पनि देउराकी धर्मपत्नी एवं पूर्व-परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र छोरा जयवीर भने तत्काल स्वदेश फर्किने छैनन्।
सुकेधारामा राष्ट्रिय भेलाको तयारी पूरा
स्वदेश फर्किएलगत्तै निवर्तमान सभापति देउवाले भोलि (२९ साउन) देखि सुरु हुने नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछन्।
संस्थापनइतर समूहले लामो रस्साकस्सीपछि राष्ट्रिय भेलाका लागि स्थान तय गरेको छ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भेला सञ्चालन गर्ने निर्णय भएको प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले पुष्टि गरेका छन्।
संयोजक विश्वकर्माका अनुसार भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको छ। राष्ट्रिय भेलाको भव्य उद्घाटन समारोह भोलि शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ। पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सञ्चालन हुने यो राष्ट्रिय भेला लगातार तीन दिनसम्म चल्ने बताइएको छ।
देशभरका करिब पाँच हजारभन्दा बढी नेता तथा कार्यकर्ताहरूको प्रत्यक्ष सहभागिता रहने दाबी गरिएको यस भेलाको पहिलो दिन भव्य उद्घाटन सत्र हुनेछ भने बाँकी दुई दिन (साउन ३० र ३१ गते) बन्दसत्र सञ्चालन गरिनेछ। बन्दसत्रमा पार्टीको भावी दिशा, सांगठनिक पुनर्संरचना र समसामयिक राजनीतिक विषयमा गहन छलफल हुने आयोजक समितिले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment