किशोर श्रेष्ठको रिहाइको माग गर्दै पत्रकार महासंघको काठमाडौं प्रहरी परिसरअगाडि धर्ना

डिसी नेपाल
२८ साउन २०८३ ९:११

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको तत्काल रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आज काठमाडौं प्रहरी परिसरअगाडि धर्ना दिने भएको छ।

महासंघले पत्रकार श्रेष्ठको पक्राउ तथा जनआस्था साप्ताहिकको कार्यालयमा गरिएको खानतलासीको विरोध गर्दै धर्नामा सहभागी हुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेका सबैलाई आह्वान गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले सूचना जारी गर्दै धर्नामा सहभागी हुन आग्रह गरेका हुन्।

नेपाल प्रहरीले बुधबार जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको थियो। त्यसको भोलिपल्ट बिहीबार बिहानै प्रहरी टोलीले जनआस्था साप्ताहिकको कार्यालयमा पुगेर खानतलासीसमेत गरेको महासंघले जनाएको छ।

श्रेष्ठको पक्राउ र सञ्चारमाध्यमको कार्यालयमा गरिएको खानतलासीलाई महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा लिँदै विरोध जनाएको छ। महासंघले पत्रकारलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा प्रेस स्वतन्त्रता र पत्रकारिताका स्थापित मान्यतालाई सम्मान गर्न प्रहरी प्रशासनसँग माग गरेको छ।

श्रेष्ठको पक्राउपछि बुधबार राति नै नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मासहित पत्रकारहरूको टोलीले काठमाडौं प्रहरी परिसरअगाडि पुगेर प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा पत्रकारहरूले श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेका थिए।

महासंघले पत्रकार श्रेष्ठलाई विनासर्त रिहा नगरे आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिएको छ। प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारमाथि हुने हस्तक्षेपविरुद्ध महासंघले देशव्यापी रूपमा आवाज उठाउने जनाएको छ।

महासंघले पत्रकारको पक्राउ, सञ्चारगृहमा गरिएको खानतलासी तथा प्रेस स्वतन्त्रतासँग सम्बन्धित घटनाबारे सम्बन्धित निकायसँग जवाफ माग्दै आएको छ। आजको धर्नालाई पनि पत्रकार तथा प्रेस स्वतन्त्रताप्रेमीहरूको सहभागितामा थप प्रभावकारी बनाउने तयारी गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *