जनआस्था कार्यालयमा प्रहरीको खानतलासी, कम्प्युटर र इलेक्ट्रोनिक उपकरण संकलन
काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले उनको कार्यालय जनआस्था साप्ताहिकमा समेत खानतलासी गरेको छ। प्रहरीले बिहीबार बिहान सानेपास्थित जनआस्था कार्यालयमा पुगेर विभिन्न कागजपत्र तथा विद्युतीय उपकरणको जाँच र संकलन गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार अनुसन्धानका क्रममा कम्प्युटर तथा कम्प्युटरजन्य उपकरण हेर्नुपर्ने भएकाले कार्यालयमा खानतलासी गरिएको हो।
प्रहरी टोली बिहान करिब ७ बजे जनआस्था कार्यालय पुगेको थियो। चार–पाँच जना प्रहरी कार्यालयभित्र प्रवेश गरेका थिए भने अन्य प्रहरी बाहिर बसेका थिए। कार्यालयभित्र रहेका प्रहरीले विभिन्न कागजपत्र तथा कम्प्युटरलगायत इलेक्ट्रोनिक उपकरण संकलन गरेको एक पत्रकारले बताएका छन्।
पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो। उनको पक्राउपछि पत्रकारिता क्षेत्रबाट विरोध सुरु भएको छ। नेपाल पत्रकार महासंघले श्रेष्ठको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएको छ।
श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मासहित पत्रकार तथा सञ्चारकर्मीहरूले काठमाडौं प्रहरी परिसर अगाडि धर्नासमेत दिएका छन्। धर्नाका क्रममा महासंघले पत्रकार पक्राउ र सञ्चारमाध्यममा गरिएको खानतलासीप्रति आपत्ति जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि थप आन्दोलन गर्ने चेतावनी दिएको छ।
महासंघले पत्रकारलाई पक्राउ गरेर अनुसन्धान गर्ने नाममा सञ्चारमाध्यमको कार्यालयमा खानतलासी गर्ने तथा सामग्री नियन्त्रणमा लिने कार्यले प्रेस स्वतन्त्रतामाथि असर पार्न सक्ने भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
श्रेष्ठमाथि प्रहरीले के विषयमा अनुसन्धान गरिरहेको हो भन्नेबारे विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment