सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै, साँझ ५ बजे प्रदेशसभा बैठक
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५:०० बजे बस्ने भएको छ।
बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले जानकारी दिइन्।
विगत लामो समयदेखि बैठकमा अनुपस्थित प्रदेशसभा सदस्यका विषयमा पनि छलफल हुने सम्भावित कार्यसूची रहेको जोशीले बताइन्।
सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गत असार ३१ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्।
संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने प्रावधानअनुरूप शाहले विश्वासको मत लिन लागेका हुन्।
बुधबार सभामुख भीमबहादुर भण्डारीलाई विश्वासको मत लिने जानकारी गराउँदै मुख्यमन्त्री शाहले प्रदेशसभा बैठक आह्वानका लागि पत्र पठाएका थिए।
सुदूरपश्चिम प्रदेशसभामा ५३ जना सदस्य रहेका छन्। तीमध्ये मुख्यमन्त्री शाह नेतृत्वको नेपाली कांग्रेसका १८, नेपाली कम्युनिष्ट पार्टीका सभामुखसहित २२, एमालेका ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना प्रदेशसभा सदस्य रहेका छन्।
सरकार गठन वा विश्वासको मत सिद्ध गर्न २७ जना सदस्यको समर्थन आवश्यक पर्छ। हाल एक जना देश बाहिर रहेको र एक जना निलम्बनमा परेको प्रदेशसभा सचिवालयले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment