भदौ ११ मा महिला उद्यमशीलता सम्मेलन गर्ने नेपाली कांग्रेस नीति प्रतिष्ठानको निर्णय
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ। पार्टी उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको प्रतिष्ठानको सातौँ बैठकले कांग्रेस केन्द्रीय कार्यालय परिसरमा सो सम्मेलन गर्ने निर्णय गरेको हो।
स्टार्टअप तथा साना र मझौला उद्यम क्षेत्रमा क्रियाशील महिला उद्यमीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ।
सम्मेलनमार्फत उद्यमी महिलाहरूबीच अनुभव आदानप्रदान, सम्भावित लगानीकर्तासँग भेटघाट, सरकारी निकायसँग समन्वय, नयाँ बजारको खोजी र व्यवसाय प्रवर्द्धनका लागि प्रेरणादायी वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ।
यसैगरी, प्राविधिक कारणले स्थगित भएको बीपी स्मृति दिवस (साउन ६ गते) को ‘ग्रीन रन’ प्रतियोगिताअन्तर्गतको महिला दौड आगामी भदौ ६ गते पुनः गराइने निर्णय पनि बैठकले गरेको छ। सो प्रतियोगितामा पहिले दर्ता भइसकेका प्रतिस्पर्धीका साथै नयाँ इच्छुक महिलाहरूले पनि सहभागिता जनाउन पाउनेछन्।
बैठकले प्रतिष्ठानका सदस्य राकेश सिंहको संयोजकत्वमा ‘समुदाय पहुँच उपसमिति’ गठन गरेको छ, जसको सहजीकरण केन्द्रीय सदस्य डा. अमिता प्रधानले गर्नेछिन्। प्रतिष्ठानको आगामी बैठक भदौ पहिलो साता बस्ने गरी स्थगित भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment