रोल्पा पहिरो : मृत्यु हुनेको संख्या सात पुग्यो, ५ अझै बेपत्ता
काठमाडौं । अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा गएराति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ। घटनामा अन्य ५ जना अझै बेपत्ता छन्।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले पहिरोमा परी ज्यान गुमाउनेहरूमा स्थानीय १८ वर्षीया शान्ति पुन मगर, ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेको बताएका छन्।
त्यस्तै, पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन्। उनीहरूलाई थवाङ स्वास्थ्य चौकीबाट थप उपचारका लागि बुटवल पठाइएको छ। मृतक, घाइते र बेपत्तामध्ये केहीको शव प्यूठानको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोला किनारमा समेत फेला परेको छ।
घटनामा परेर ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर बेपत्ता भएका छन्।
बेपत्ताहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। तर, निरन्तरको वर्षा र लेदोसहितको पहिरो खस्ने क्रम नरोकिएका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको सुरक्षा निकायले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment