विमानस्थलबाट सोझै इतर समूहको सम्पर्क कार्यालय चुनदेवी पुगे देउवा

डिसी नेपाल
२८ साउन २०८३ १६:२३

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हङकङबाट स्वदेश फर्किएलगत्तै संस्थापनइतर समूहको चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेता-कार्यकर्ता र समर्थकहरूको नाराबाजीका बीच सुरक्षाकर्मीको स्कर्टिङमा उनलाई चुनदेवी लगिएको हो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा थाइ एयरको विमानमार्फत बिहीबार दिउँसो करिब साढे १२ बजे स्वदेश फर्किएका हुन्। चुनदेवीस्थित सम्पर्क कार्यालयमा कार्यकर्ताहरूले उनको स्वागत गरेका थिए भने देउवाले सो क्रममा केहीबेर सम्बोधन समेत गरेका छन्।

जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएका देउवा गत फागुन १३ गते राति सिंगापुर गएका थिए भने उनी चैत ७ गते थप उपचारका लागि हङकङ पुगेका थिए।

पूर्वसभापति देउवा भोलि (शुक्रबार) सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनेछन्।

इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार तीन दिनसम्म चल्ने उक्त राष्ट्रिय भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे हुनेछ। भेलामा करिब पाँच हजार नेता तथा कार्यकर्ताहरूको सहभागिता रहने इतर समूहले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *