मनसुन थप सक्रिय: देशका धेरै ठाउँमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

डिसी नेपाल
२९ साउन २०८३ ७:१०

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपाल नजिक अवस्थित छ।

यसको प्रभावले मधेश, कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली (बादल) लागेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा र कोशी एवम् बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थान र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना छ।

यस्तै, तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ।

भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबान र नदी-नालाहरूमा बहाव बढ्न सक्ने भएकाले सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *