कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु बाटोमै अलपत्र

डिसी नेपाल
२९ साउन २०८३ ९:११

बागलुङ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ।

गए रातिदेखि परेको लगातार वर्षाका कारण बागलुङ नगरपालिका–१३ स्थित कालाखोला बगरमा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको हो। पहिरोले सडकमा माटो तथा ढुंगा थुपारेपछि सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको छ।

त्यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिवाङ–निसीखोला सडकखण्डको निसीखोला गाउँपालिका–४ कानाबजार नजिक ठाडाखोलामा बाढी आएपछि सडक अवरुद्ध भएको छ। बाढीका कारण सडकमा पानीको बहाव बढेपछि यातायात सञ्चालनमा समस्या भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार दुवै राजमार्ग खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना तथा कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय गरी अवरोध हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध भएपछि दुवै मार्ग हुँदै यात्रा गरिरहेका यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका छन्। वर्षा निरन्तर भइरहेकाले पहिरो तथा बाढीको जोखिम अझै कायमै रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित निकायले सडकको अवस्था हेरेर आवश्यक उपकरण परिचालन गरी अवरोध हटाउने तयारी गरिरहेको छ। वर्षाका कारण थप स्थानमा समेत पहिरो तथा बाढी आउन सक्ने भएकाले यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *