बाजुरामा पहिरोको कहरः २० वर्षीया युवती बेपत्ता, दुई जना घाइते
बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षापछि गएको पहिरोमा परी एक युवती बेपत्ता भएकी छिन् भने दुई जना घाइते भएका छन्।
पहिरोमा परी बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका–९ की २० वर्षीया प्रतीक्षा थापा रहेकी छिन्। पहिरोले घर पुरिँदा उनी बेपत्ता भएकी हुन्। उनको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र स्थानीयवासी परिचालन गरिएको छ।
पहिरोमा परी स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार धर्म थापाको बायाँ खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। त्यस्तै, धौलीदेवी रावलको टाउको, खुट्टा र शरीरमा चोट लागेको छ।
घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको प्रहरीले जनाएको छ।
अविरल वर्षापछि आएको पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्णरूपमा क्षति भएको छ। पहिरोमा परेर कर्णबहादुर थापाकी छोरी प्रतीक्षा बेपत्ता भएकी हुन्।
बेपत्ता प्रतीक्षाको खोजीका लागि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। खोजी तथा उद्धार कार्यमा सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीसमेत परिचालित भएका छन्।
लगातार वर्षा भइरहेकाले घटनास्थल आसपास थप पहिरोको जोखिम रहेको प्रहरीले जनाएको छ। उद्धार टोलीले जोखिमका बीच बेपत्ता प्रतीक्षाको खोजीलाई तीव्रता दिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment