अविरल वर्षापछि देशभर सडक अवरुद्ध, दर्जनौँ सडकखण्डमा यातायात प्रभावित

डिसी नेपाल
२९ साउन २०८३ ९:५२

काठमाडौँ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो, बाढी तथा सडक कटान हुँदा प्रमुख राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले शुक्रबार बिहान ९ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा यातायात अवरुद्ध भएको जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवतजावत रोकिएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने उक्त सडकखण्डमा यातायात सञ्चालन हुने व्यवस्था गरिएको छ।

त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ। प्रहरीले बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकमा सवारीसाधन सञ्चालन गर्न रोक लगाएको जनाएको छ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडकमा अत्यधिक हिलो भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। सो क्षेत्रमा वैकल्पिक सडक भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

यसैगरी, सिन्धुपाल्चोकको अरनिको राजमार्ग विभिन्न स्थानमा पहिरोका कारण प्रभावित भएको छ। भोटेकोशी गाउँपालिका–४ चारकिलोमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी–२ कोदारीस्थित इकुमा ढुङ्गा, माटो तथा लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ भने सोही वडाको लिपिङमा सडक भासिएपछि अरनिको राजमार्गको आवागमनसमेत रोकिएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेशी जाने कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

पश्चिमतर्फ पनि वर्षाजन्य विपद्का कारण सडक यातायात प्रभावित भएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पहिरोका कारण अवरुद्ध भएको छ।

त्यस्तै, रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र भूमे–५ धौलापहिरामा मध्यपहाडी लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

लमजुङमा पनि दुई प्रमुख सडकखण्ड अवरुद्ध भएका छन्। मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग तथा बेँसीसहर नगरपालिका–६ खरखरे भीरस्थित बेँसीसहर–मनाङ सडक पहिरोका कारण पूर्ण रूपमा बन्द भएका छन्।

त्यसैगरी, म्याग्दीको बेनी–जोमसोम सडक पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। रघुगङ्गा गाउँपालिका–२ बैँसेरी र अन्नपूर्ण गाउँपालिका–७ महभीरमा पहिरो खसेपछि सडकमा यातायात सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण सडकमा पहिरो खस्ने, नदी तथा खोलाले सडक कटान गर्ने र सडक हिलाम्मे हुने क्रम बढेपछि विभिन्न क्षेत्रमा यातायात सञ्चालनमा समस्या देखिएको हो। प्रहरीले वर्षाका कारण जोखिमपूर्ण बनेका सडकमा सावधानी अपनाउन तथा आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

अवरुद्ध सडकखण्डमा पहिरो तथा माटो हटाउने र सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ। वर्षा निरन्तर भइरहेकाले सडकको अवस्था जुनसुकै बेला थप बिग्रन सक्ने भएकाले यात्रुले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिनुपर्ने देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *