एमालेको समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

डिसी नेपाल
२९ साउन २०८३ १२:५१

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्।

शुक्रबार बिहान नेकपा एमालेको समर्थनसहित दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै यसअघिका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्‍याउन सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरेका थिए।

तोकिएको समयभित्र एमालेका संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको समर्थनसहित भट्टले सरकार गठनको दाबी पेस गरेका हुन्। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा २७ जना सांसदको समर्थन आवश्यक पर्दछ।

हाल प्रदेशसभामा सभामुख र एक जना निलम्बित बाहेक नेकपाका २० जना र एमालेका ११ जना गरी ३१ सांसदको समर्थन रहेकाले भट्टले स्पष्ट बहुमत जुटाएका हुन्। डडेल्धुरा प्रदेशसभा (क) बाट निर्वाचित भट्ट सुदूरपश्चिम प्रदेशका पाँचौँ मुख्यमन्त्री बनेका छन्।

मुख्यमन्त्रीमा नियुक्त भएपछि प्रतिक्रिया दिँदै उनले प्रदेशका २७ लाख जनताको नेतृत्व गर्दा जिम्मेवारी र चुनौती दुवै थपिएको महसुस भएको बताएका छन्। नवनियुक्त मुख्यमन्त्री भट्टको शपथ ग्रहण समारोह शुक्रबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा तय गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *