कृति समीक्षा

अग्निस्पन्दनको रापताप

मनबहादुर वि.क.
३० साउन २०८३ ७:०३

मेरो अस्तित्वको गहिराइमा

कुनै शून्यता छैन

त्यहाँ त

पटकपटक बल्झिएको ज्वालामुखी छ

धर्तीको गर्भ जस्तै !

यो अग्नि

एकै दिनको उपज होइन

कालखण्डका अस्तिपञ्जरहरूमा सञ्चित

अन्यायपूर्ण चोषणको पुरातन ताप हो

जसले युगौँदेखि

आफ्नो परिचय खोजिरहेको थियो।

– कल्पना पौडेल ‘जिज्ञासु’ (अग्निस्पन्दन)

यी माथि उल्लिखित विद्रोहात्मक गुञ्जन कविका हुन्, जहाँ युगौँदेखि गुम्सिएका असन्तुष्टि, असामञ्जस्यता, अपारदर्शिता, अन्याय, अत्याचार, दमन र शोषणको मरुभूमि बनाइयो। यसैको पर्दाफास नै ‘अग्निस्पन्दन’को स्पर्श हो।

समाज अझै रूढीग्रस्त सोचले चलिरहेको छ। जताततै दानवपन, भयभीत अवस्था, दबिएका नारी स्वर, अस्तित्वविहीन जीवनयापन अनि चेतनाविहीन समाज छ। समयको पदचाप द्रुत गतिमा अगाडि बढिरहेको छ तर समयअनुसार मानवीय सोच, चिन्तन, चरित्र, संस्कार, संस्कृति र व्यवहारमा परिवर्तन आउन नसकेको कविको चिन्तन छ। खास गरी उच्च वर्गले निम्न वर्गलाई र शोषकले शोषितलाई विभिन्न परिबन्दको भासमा डुबाएको साक्षी छ।

नारी सन्तान उत्पादन गर्ने कारखाना मात्रै होइनन्। समाजका खेलौना होइनन्, नारी त अस्तित्वका पुञ्ज हुन्। नारीमा शक्ति छ, भक्ति छ अनि सहनशीलताको पुञ्ज छ। नारी दुर्गा, सरस्वती, काली, लक्ष्मी आदि सर्वथोक हुन्।

नारी कमजोरीका द्योतक मात्रै होइनन्, अदृश्य ज्वाला पनि हुन्। समाजमा जतिसुकै अन्याय, अत्याचार, कुरीति र कुसंस्कारको जालोमा लेपन लगाउन खोजे पनि हरेक नारी दरो र खरो रूपले उत्रन कविको उद्गार छ, जसको ज्वलन्त उदाहरण एउटा श्लोक हेरौँ:

याद राख !

म मूर्ति होइन

म चलायमान अग्नि हुँ

जब मेरो श्वास गहिरो हुन्छ

तब ध्वस्त हुन थाल्छन्

रूढीवादी किल्लाहरू !

– (अग्निस्पन्दन)

‘अग्निस्पन्दन’भित्र मानव जीवनका अनेकौँ भावचेष्टा, सत्कर्म-कुकर्म, सुविचार-कुविचार, आशा-निराशा आदि सबै जडित पुञ्ज हो। यहाँ वर्तमान परिवेशको भूपरिवेष्ठित चिन्तनलाई गहन रूपमा प्रस्तुत गरिएको छ।

विश्वपरिवेशीय रूपमा अहिले विशेष गरी सामाजिक सञ्जालको व्यापक प्रयोग भइरहेको छ। यसका फाइदा र बेफाइदा दुवै पाउन सकिन्छ। यसको नकारात्मक प्रभावले मानव मस्तिष्कमा पार्ने असरलाई कवितामा बिम्बात्मक प्रस्तुति दिइएको छ। घरमा ठूलो परिवार हुँदा पनि घर शान्त छ अर्थात् घर बोल्दैन। मनमा अनगिन्ती पीडा, अशान्ति र बेचैनी छ तर एकले अर्कोसँग भावना साट्दैन।

कैयौँ बालबालिकाहरू सामाजिक सञ्जालको गलत प्रयोगले कलिलो मस्तिष्कमा नकारात्मक विचार जन्माउन पुग्छन्। त्यसको गलत प्रयोगले अमूल्य जीवन छियाछिया पार्दै जीवन नष्ट पारेका यथार्थपरक घटना देख्न सकिन्छ। यसको दुरुपयोगले समाज दिनानुदिन गलत बाटोतर्फ मोडिएको यथार्थ प्रस्तुति कवितामा भेट्न सकिन्छ।

पाश्चात्य संस्कार, रीतिरिवाज र चालचलनले आफ्नो नेपालीपन बिर्सिएको, आफ्नो संस्कृति, भाषा, पहिचान र परम्परागत धरोहरहरू खण्डित हुन पुगेको स्रष्टाको चिन्ता छ।

समाजको बहावसँगै द्रुत गतिमा अगाडि बढेको सामाजिक सञ्जाललाई सही मार्गनिर्देश गर्नुपर्दछ। मानिसमा भ्रम र अफवाह फैलाउनु हुँदैन। एउटै विषयवस्तुलाई पनि फरक-फरक रूपमा समाचार गरी जनतालाई भ्रमित बनाउने दुष्प्रयासप्रति कविको गहिरो चिन्ता देख्न सकिन्छ:

चम्किला स्क्रिनहरूले भरिएका सहरहरूमा

अदृश्य अन्धकार फैलिँदैछ

सूचना प्रवाहको तीव्र वेगका कारण

सत्य र असत्यको सीमारेखा मेटिँदैछ

एउटै सन्देश बहुरूप धारण गर्छ

अनगिन्ती माध्यममार्फत

मनमनमा प्रवेश गर्छ।

– (अदृश्य युद्ध : १३)

समयको बहावसँगै अहिले समानता, समावेशिता र स्वतन्त्रताका नारा घन्किएका छन्। तत्कालीन समाजमा पितृसत्तात्मक राज्यसंरचनाका कारण नारी दमन अत्यधिक भएको चर्चा कवितामा छ।

नारीलाई घरको चौघेरामा बन्धक राखी नारी स्वतन्त्रता हनन गरेको तीतो यथार्थता कवितामा कारुणिक रूपले प्रस्तुत गरिएको छ। समयको प्रवाहसँगै खुलेको नारी चेतलाई पनि गुम्स्याउन खोज्नु, अझै बाधा-अड्चन दिन खोज्ने, नारीलाई हरेक तह-तप्कामा नेतृत्वदायी भूमिका दिन अविश्वास गर्ने आदि सङ्कुचित सोच अझै जीवितै छ भन्ने तथ्य कविमनबाट पोखिएको छ, जुन एउटा श्लोक यसरी दर्साउन सकिन्छ:

आँखाभरि आकाश बोकेकी स्त्री

बाहिरी वासन्ती मुस्कान

भित्रभित्रै साउनको कालो बादल थामेकी

उसको घरमा शब्दका हतियार छन्

नदेखिने तर तीखा खञ्जर जस्तै

दैनिक हृदय चिर्ने !

तिमी सक्दिनौ

एउटा कर्कश वाक्य

काढिएका पखेटा काट्ने……

– (देखिँदैनन् यी घाउहरू : १५)

भित्र आफ्ना लाखौँ चाहनालाई तिलाञ्जली दिँदै नारीले कष्टमय जीवन व्यतीत गरेको यथार्थतालाई कवितामा पस्किएको छ। समयको बहावसँगै एउटी नारी छोरी, श्रीमती, बुहारी, आमा, हजुरआमा सबथोक बन्छे तर आफू बन्न नसकेको यथार्थ चित्रण कवितामा प्रस्तुत गरिएको छ।

यति भन्दै गर्दा पुरुषबाट नारी मात्रै दमित छैनन्। पछिल्लो समयलाई गहन रूपले नियाल्ने हो भने महिलाबाट प्रताडित पुरुषको सङ्ख्या पनि कम छैन। आफ्नो ज्यानको परवाह नगरी जहान-परिवारको सुनौलो सपना बोकी खाडी छिरेको श्रीमान् गाँस न बासको परिस्थितिमा छ।

कुरा महिला-पुरुषको मात्रै होइन; विभिन्न जातजाति, धर्म, लिङ्ग, भूगोल, भाषाभाषी, वर्ण आदिमा पनि विभेद छ। समाजका यी विषम कुराहरूमा पनि स्रष्टाको ध्यान केन्द्रित हुन जरूरी देख्छु। एउटै पक्षलाई मात्रै केन्द्रित गरेर समाजले गति लिन सक्दैन।

तसर्थ, राज्यसंयन्त्र प्रणाली बलियो बनाएर विशेष गरी देशको कानुनी पक्ष सबल रूपमा कार्यान्वयन गर्दै/गराउँदै समावेशी, समानुपातिक, सहकार्य, सहअस्तित्व, शिक्षा, स्वतन्त्रता आदिमा सबै वर्ग, लिङ्ग र जातजातिको प्रत्यक्ष सहभागिता बढ्दै गएमा विभेदजन्य कार्य विस्थापन हुन सक्ने सम्भावना रहन्छ।

सन्तानका लागि आमा संसारकै एक अमूल्य रत्न हुन्। एउटी आमाको लागि संसारकै खुसी मिल्ने भनेको आफ्नो सन्तानको प्राप्ति हो। जस्तोसुकै दुःख झेल्न सक्छिन् एउटी आमाले आफ्नो सन्तानको लागि।

आफ्ना अनगिन्ती दुःख-कष्टहरू लुकाउँदै सन्तानका लागि कृत्रिम हाँस्न सक्ने एउटी महान् आमाको कीर्तिगाथा कवितामा प्रस्तुत गरिएको छ। आफ्ना कैयौँ सपनाहरूलाई तिलाञ्जली दिँदै सन्तानको खुसीमा जीवन समाहित गर्न सक्ने त्यागी, तपस्वी, सहनशील, कर्मशील, प्रयत्नशील र विवेकशील आमाको महिमागान यस कविताले बोकेको छ।

सन्तानको भविष्य निर्माणमा आफ्ना अनमोल सपनाहरूलाई बन्धक राख्दै मुग्लान र विदेशी मरुभूमिमा आफ्नो जिउज्यान धरापमा पार्दै चट्टानरूपी आमाको संघर्षमय कथा-व्यथालाई कविताका हरेक अंशहरूले बिम्ब बोकेका देखिन्छन्।

सन्तानका लागि आमाको महान् त्याग हुँदा पनि वयवृद्ध अवस्थामा तिनै सन्तान आमाबुबाको सहारा नहुँदा कतिपय आमाबुबा वृद्धाश्रम पुग्नुपरेको यथार्थ भाव कवितामा अभिव्यक्त गरिएको छ। सन्तानले जतिसुकै पीडा दिए पनि हाँसीहाँसी स्वीकार गर्न सक्ने महान् आमाको महिमागानको श्लोक तल प्रस्तुत गरौँ:

आमा ती हुन्

जो हाँस्छिन्

जूनको उज्यालोले नुहाएको रातझैँ

तर त्यो हाँसोको तहभित्र

अनगिन्ती चिच्याहटहरू

बलात् थुनिएका हुन्छन्

उनका ओठहरूमा उज्यालो बस्छ

तर आँखाका गहिराइमा

अनेक अधुरा प्रलापहरू

निस्सासिएर निद्रामग्न हुन्छन्।

आमा ती हुन्

जो सन्तानको निम्ति

सन्तानकै स्वप्न वहन गर्दै

एकदिन

आफ्नै धमनी र शिराहरू विदीर्ण गरेर

सानासाना औँलाहरूको स्निग्धता

काखाबाट छुटाएर

सन्तानकै खातिर

मुग्लान भासिन्छिन्।

– (आमा ती हुन् : २०/२१)

मानव र प्रकृतिबीच तादात्म्य सम्बन्ध स्थापित हुन सकेन भने भयावह अवस्था सिर्जना हुन सक्छ। मानव, प्रकृति र वन्यजन्तु एकअर्काका परिपूरक नै हुन्, जसले यो सृष्टि नै थामेको छ भन्दा अतिशयोक्ति नहोला। आज दिनानुदिन प्रकृतिको मुहार विदीर्ण देखिँदै गएको छ।

ती सुन्दर घुम्टो ओढेर लजाइरहेकी प्रकृतिको शिरमा आज कुनै पहिरनयोग्य ताज छैन। उनको मुहारमा कुनै तेजोपन अनि गुलाफी मुस्कान छैन; छ त केवल फुङ्ग उडेको सुक्खा मुहार अनि टल्किएका सुक्खा निधाररूपी फोहोरी, कुरूप ढुङ्गाहरू।

यसरी मानवले सुन्दर प्रकृतिको दोहन गरेको छ। युगौँदेखि मानव र प्रकृतिबीचको सहसम्बन्ध उजाडिँदै गएको छ। मानवबाट प्रकृतिले भयानक प्रताडना सहेको छ। साह्रै असह्य भएपछि भूकम्प, बाढी, पहिरो, जलवायु परिवर्तन एवम् प्राकृतिक विपद् निम्तिन्छ। यही मानवीय दुष्प्रयासलाई रोक्न धर्तीलाई मानवीकरण गर्दै सचेतना फैलाउने कविको यो उत्कृष्ट मानवचेतलाई सराहनीय कदम मान्न सकिन्छ:

तिमीलाई लाग्ला

म माटो मात्र हुँ

एक विलोपनशील खण्ड

माटो मात्रै होइन

म त ब्रह्माण्डको निषेचित गर्भ हुँ

जसबाट जन्मन्छन्

विषम समयका सभ्यताहरू

म त्यस्तो सघन रेखा हुँ

जसले जीवनको प्रादुर्भाव गर्छ……

– (धर्तीको चिठी : २२)

कविभित्र देशप्रेम छ। जसरी विदेशी भूमिमा रापतापसहित काम गर्छौँ, नेपाली भूमिमा शीतलताका साथ कर्म गर्न कविको सुझाव देखिन्छ। परिस्थितिले नेपाली युवायुवतीले देश छोडे तापनि अन्ततः आफ्नै देशको माटोको सुगन्धले तान्नुपर्ने तर्क छ। आफ्नो मातृभूमि र जन्मभूमि नै जीवनको सर्वप्रिय अभिभारा ठानुपर्ने कविको देशप्रेमपूर्ण भावना जागृत भएको पाउन सकिन्छ।

देश परिवर्तनको खातिर हजारौँ युवाले आफूलाई बलि चढाइसके। पुर्खाको इतिहास त इतिहासका पानामा सुरक्षित छ नै। उनीहरूको त्याग, तपस्या र बलिदान नै आजको नेपालको स्वतन्त्रताको बिज हो।

जब-जब देशका नायकहरू खल चरित्रमा जान्छन्, तब-तब देशले स्वतन्त्रता सङ्ग्रामका लागि युवाको रगत माग्छ। पछिल्लो समय तानाशाही चरित्रका विरुद्धमा जेन्जी आन्दोलन सबैका मानसपटलमा बिम्ब बनेको छ। कलिला बालबालिकाहरूले अकालमा ज्यान गुमाउनुपर्‍यो। कविहृदय यस विषयमा भावुक बनेर पग्लिएको देखिन्छ:

छाया परेका गल्लीहरूमा

तिमी घस्रन बाध्य थियौ

कठोर युग चपाएका

काठका निर्जीव अनुहारसँगै तिमीलाई बाँधिएको थियो

जालझेलका अदृश्य डोरीले कसिएको थियो

दिग्भ्रान्त बनाइएका थियौ तिमी।

– (सलाम छ जेन्जीलाई : २८)

परिवर्तनको खातिर स्वर्णिम भविष्य बोकेका विद्यार्थीको क्रूर हत्याको जीवन्त प्रसङ्ग कवितामा उल्लेख गरिएको छ। आजका बालबालिका नै भविष्यका सच्चा पहरेदार हुन्। विद्यालय पोसाकमा भविष्य निर्माणमा हिँडेका अबोध विद्यार्थी नै रगतको लेपनमा भौतिक शरीर छोडेको ताजा, भयानक दृश्य कवितामा पोखिएको छ।

आमाको काख अनि परिवारको भविष्यको सहारा, आशाको किरण निभ्यो। ती निर्दोष अनुहारहरू सधैँका लागि स्वर्णिम संसार छोडेर जानुपर्‍यो। सत्ताको मदले बेहोसी बनेका शासकहरू नै निर्दयी भएर ती कलिला निर्दोष मुनाहरू फूल फुल्न नपाउँदै निमोठिएको यथार्थ, वास्तविक घटनाको चित्रण कवितामा गरिएको छ। त्यही कारुणिक बिम्ब बोकेको एउटा श्लोक हेरौँ:

सत्ताको मदले मदहोस शासक

सिङ्गो देशको भावना भाँच्न खोज्दै

नयाँ निरो बनेर

बजाउँदै थियो बेसुरा बाँसुरी

पोख्दै थियो आक्रोश

ओकल्दै थियो कालकूट विष।

– (रगतको रेखा : ३४)

संसारका सबै मानिसको अस्तित्व एउटै हुनुपर्ने हो तर हाम्रो कथित सभ्यताले मान्छे अझसम्म पशु बन्नुपरेको यथार्थपरक विषयवस्तु कवितामा उनिएका छन्। माटो खन्ने, ढुङ्गा फुटाउने, घर-पर्खाल बनाउने, मूर्ति बनाउने, मन्दिर बनाउने, कपडा सिलाउने त्यही मानव हो तर जसले ती सबै कार्य सम्पन्न गरिसकेपछि ऊ अछूत बन्छ। ऊ निषेधित हुन्छ आफैँले निर्माण गरेका वस्तुहरूबाट।

छुत र अछूतको सीमारेखा कोरेर युगौँदेखि शोषित, दमित एवम् अत्याचारको सिकार हुन विवश छ। यही ज्वलन्त, यथार्थपरक बिम्ब कवितामा उनिएको छ, जसको एक श्लोक यसरी उल्लेख गर्न सकिन्छ:

माटो खन्यो

ढुङ्गा फुटायो

पर्खाल ठड्यायो

घर बनाइदियो

बाबजुद, घरमा पस्न पाएन ऊ

निषेध गरियो उसको लागि

प्रवेशद्वार

अछूत भनेर !!

– (कथित सभ्यता : ३८)

कृतिभित्र सर्जकका थुप्रै अनुभूतिहरू सजिएका छन्। उनको रचनामा देशको स्वाभिमान, अस्तित्व एवम् सीमाको विषयमा गहन चिन्तन भेटिन्छन्। स्वाभिमान र सीमानाकै कुरा गर्ने हो भने नेपाली वीरपुर्खाको इतिहास सायद विश्व इतिहासका पानामा सुरक्षित छ।

नेपाली वीरपुर्खाले आर्जन गरेको सीमा अहिले खुम्चिएको छ, दुब्लाएको छ। त्यही खुम्चिएको सीमाना पनि बारम्बार खुम्चिरहनुपर्ने विवशताप्रति सर्जकको कडा आपत्ति छ, जसको एक श्लोक यसरी उतार्न सकिन्छ:

जनताको स्वाभिमान

बाध्यता

विवशता

फेरिएको पहिचान

सतलजपारिको हावा

नेपाली मन लिएर आइपुग्छ

लिपुलेक नेपालीको छातीमा धड्किन्छ

ठुला रूखमुनिको बालीझैँ

अमिलो मन गरेर

भारतीय झण्डामुनि

विवश छ चुच्चे नक्साको नेपाल

– (सीमाको आँसु : ४८)

कृतिभित्र कविमन मात्रै छैन; समाजका अन्याय, अत्याचार, सङ्घर्ष एवम् कुण्ठित भावना आदिको सिङ्गो प्रतिनिधिमूलक भावना उजागर भएका छन्। ‘गुँड छोडेकी चरी’ कवितामा प्रायः धेरै नेपाली समाजको प्रतिनिधिमूलक नारी वेदना मान्न सकिन्छ।

यसमा मानवेत्तर पात्र चरीको वर्णन गरिए तापनि प्रतीकात्मक रूपमा नेपाली नारीको कथा-व्यथालाई अभिव्यञ्जनात्मक रूपमा प्रस्तुत गरिएको छ।

श्रीमतीले विवशताले घर छोड्नुपर्दा अथवा सन्तानको भविष्य निर्माणका लागि केही समय परदेश जाँदा श्रीमान्ले अर्को श्रीमती भित्र्याएको, छोराछोरी, घरपरिवार, आफन्त, समाज सबैको नजरमा घृणात्मक सोचले ओतप्रोत हुने वातावरण सिर्जना हुने विवशतामय, यथार्थपरक विषयवस्तुको उठान गरिएको छ। यही जञ्जीरले बाँधिएको एउटा श्लोकलाई प्रस्तुत गरौँ:

परदेशको दुःखमा साटिएको नारी जीवन

प्रश्नका पर्खालद्वारा चरित्र घेरियो

लाञ्छनाको झिरले हृदय छियाछिया पारियो

शङ्काको जालोले ढपक्क ढाकियो

र मूल्यहीन वस्तुमा रूपान्तरण गरियो।

– (गुँड छोडेकी चरी : ५७)

कविले प्रतीकात्मक रूपमा नारीको पीडाबोध हुने कारुणिक, हृदयस्पर्शी भावना पोखेकी छन्। वर्तमान परिवेशमा त्यसरी खाडी छिरेको श्रीमान्‌लाई श्रीमतीले पनि रगत, पसिना चुसेर परपुरुषसँग लागेर हराभरा जीवन नै नष्ट गरिदिएको उदाहरण प्रशस्तै पाउन सकिन्छ। समाजका यी घटनाहरूलाई पनि समाधानतर्फ प्रेरित गरे अझै उत्कृष्ट हुने थियो।

समयको बहावसँगै विश्व निकै अगाडि पुगिसक्यो। शिक्षा, स्वास्थ्य र रोजगारसँगै विभिन्न आविष्कार एवं परिष्कार गर्दै दिनानुदिन नवीनतम चिन्तनका साथ विश्व भूमण्डलीकरण अग्रस्थानमा छ।

विवशताका साथ भन्नुपर्छ, हाम्रो नेपाल अझै उही पुरानो रीतिरिवाज, चालचलन एवम् रूढीग्रस्त समाजबाट प्रेरित छ। कथित धर्मका नाममा अझैसम्म रूढीग्रस्त प्रथालाई अङ्गालिरहेका छौँ।

जसको फलस्वरूप छाउगोठका नाममा छोरीचेलीले अकालमै जीवन गुमाउनुपरेको तीतो यथार्थता छ। प्राकृतिक रूपले हुने रजस्वला वा सुत्केरीलाई छाउगोठमा राखेर अमानवीय कर्म गरेकोप्रति सर्जकमा रोस प्रकट गरिएको देख्न सकिन्छ। एउटा उदाहरण हेरौँ:

परम्पराको आडमा

रीति र थितिका आडमा

छोरीलाई श्वास फेर्नसमेत खटन छ

बर्बर यातनाको मध्ययुगीन कालकोठरी जस्तो

स्खलित मानवीय चेतनाको प्रतिविम्ब

– (छाउपडीकी छोरी : ६२)

दासप्रथा त तात्कालिक प्रधानमन्त्री चन्द्रशमशेरले उहिल्यै फ्याँकिसकेका हुन्। अब त नेपालमा दासदासीहरू नहुनुपर्ने हो। जब प्रथा नै हटिसक्यो, अब पनि केको दासप्रथा? यही प्रश्नले हामी सबैलाई झक्झक्याउँछ। हो, नेपालबाट त दासप्रथा उन्मूलन भइसक्यो। यो इतिहास पढ्दा निकै आनन्द आउँछ।

हो, कानुनी रूपमा दासप्रथा हटिसक्यो तर यसले भेष बदलेको हो। धनी, जमिनदार, शोषक र सामन्तीहरूले दासताको स्वरूप बदलेर अझै दास बनाइरहेका छन्। यसको विरुद्धमा कविले यसरी सचेत गराएकी छन्:

हामी चिच्याउनुपर्छ अझै

किनकि दासत्व सकिनु

युद्ध सकिएको भ्रम जस्तै हो

जसरी

साम्राज्यवाद व्यापारिक प्रभुत्वमा रूपान्तरण हुन बल गर्छ

उसैगरी

दासत्व पनि भेष बदलेर कर्पोरेट यन्त्र बन्न बल गर्छ

सामाजिक समानताका लागि

दासत्व सकिनुपर्छ

मानवताले नजितेसम्म दासत्व भेष बदलेर आइरहन्छ।

– (दासत्वको भेष : ८०)

क्रान्ति धेरै भए, क्रान्तिबिज जन्मिए। एउटा सत्तामा गयो क्रान्तिकारी नारा लगाउँदै। जब ऊ सत्ताको कुर्सीमा बस्छ, अनि बिर्सिदिन्छ उसले आफ्ना क्रान्तिकारी नाराहरू।

जति पनि क्रान्तिकारी र लोकप्रिय नारा लगाए पनि त्यो सत्ता बाहिर हुँदासम्म मात्रै हो भन्ने यथार्थपरक भावचेतना यस कवितामा पाइन्छ। कुर्सीको अनावश्यक खिचातानीका कारण देशको सुशासन चल्न सक्दैन। देशमा शान्ति, सुरक्षा, अमनचयन र सकारात्मक थिति बस्न सक्दैन। तसर्थ, कविले देशको बागडोर सम्हाल्ने नेतृत्वहरूलाई यसरी सुझाव दिन्छन्:

जनता तिम्रो भाषण सुन्दैनन्

उनीहरू तिम्रो जीवन हेर्छन्

तिम्रो विरोधाभास केलाउँछन्

अनि तिम्रो नाटक चिन्छन्……

नयाँ नेपाल

जनताको चेतनाले बनाउँछ

नयाँ अनुहारले होइन !

यति बुझ

जनताले विचारको बिगुल फुकेको दिन

अजेय क्रान्ति सम्पन्न हुन्छ

दागी कुर्सी काँप्नेछ

सत्ता ढल्नेछ

नयाँ युगको थालनी हुनेछ।

– (कुर्सीको परीक्षा : ११८)

‘अग्निस्पन्दन’ आगोको स्पर्श हो। कृतिभित्रका हरेक कविताले आगो ओकलेका छन्। गद्य शैलीमा लिपिबद्ध प्रायः सबै कविता समाज रूपान्तरणका संवाहक बनेका छन्। धर्म, संस्कार, संस्कृति, भूगोल आदिका आधारमा विभिन्न प्रथाहरू बनेका छन्।

ती कुरीति र कुप्रथाको जरो उखेल्नु छ। देशका हरेक नागरिकमा सचेत, सद्भाव र समभाव निर्माण गर्नुछ। यी सबै कार्यमा आगो ओकल्दै सुसंस्कृत समाज निर्माणमा यी काव्यचेतना अझै उन्नत साबित हुन्।

कृतिभित्र ५२ वटा कविता सजिएका छन्। प्रायः सबै कवितामा तागत छ। प्रायः सबै कविताले लोककल्याणकारी मार्गनिर्देश गरेका छन्। आयाम र संरचनात्मक हिसाबले केही कविताहरू दुर्बोध्य बन्न पुगेका पनि छन्।

समग्रमा कल्पना पौडेल ‘जिज्ञासु’का कविताले झङ्कार दिन्छ, अहङ्कार तोड्छ। समाजमा अन्याय, अत्याचार, कुरीति, कुसंस्कार र विभिन्न विभेदलाई चिर्न सहयोग गरेका छन्। ऐरावती प्रकाशन प्रा.लि. काठमाडौँले प्रकाशनमा ल्याएको ‘अग्निस्पन्दन’ले लाखौँ पाठकको मन जित्न सफल होओस्, शुभकामना।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *