बालविवाहको चपेटामा चेपाङ समुदाय : २०३० को लक्ष्य हासिल गर्न कति सम्भव?

प्रकृति काफ्ले
२९ साउन २०८३ १४:३३

काखमा २ वर्ष लाग्नै लागेको छोरा बोकेकी रमिला चेपाङ (नाम परिवर्तन) जम्मा २० वर्ष मात्र पुगिन्। २०७७ सालमा विवाह गरेकी रमिलाका ४ वर्षकी छोरी र १ वर्षका छोरा छन्

आर्थिक अवस्था कमजोर रहेको रमिलाका श्रीमान्‌को स्थायी रोजगार छैन। ज्याला-मजदुरी गर्ने श्रीमान्‌को कमाइले परिवार धान्न धौ-धौ परेकाले रमिला घरधन्दासँगै रोजगारको खोजीमा थिइन्

यसैबिच, गत वर्षको फागुन महिनामा गाउँमै एक गैरसरकारी संस्थाले चेपाङ समुदायका महिलाको आर्थिक अवस्था सुधारका लागि बायोचार सीपमूलक तालिम सञ्चालन गर्ने भएपछि उनी पनि सहभागी भइन्। आर्थिक अवस्था कमजोर रहेको परिवारमा थपिएका दुई सन्तानको भविष्यका लागि पनि रमिलालाई आर्थिक उपार्जनको बाटो समात्नु आवश्यक थियो

चेपाङ समुदायमा कम पढ्नु कुनै नौलो विषय होइन। बायोचारको तालिम लिएर कृषिमार्फत आर्थिक उपार्जन गर्न सिकिन्छ भन्ने लागेपछि उनी तालिममा सहभागी भएको बताउँछिन्

“श्रीमान्‌को कमाइ पनि राम्रो छैन। जग्गाजमिन पनि त्यति छैन। यहाँबाट सिकेको बायोचार बनाउने सीपले रासायनिक मलको विकल्पका रूपमा काम गर्ने रहेछ। गाउँघरमै उपलब्ध झारपात, रुखका हाँगा र सिन्का जस्ता स्रोतसाधनबाट कालो मल (बायोचार) बनाउन सके रासायनिक मलमा हुने खर्च जोगिनेछ। अर्गानिक खेती गरेर केही पैसा कमाउन सकियो भने छोराछोरीको भविष्य राम्रो हुन्छ कि भनेर आएकी हुँ,” उनले भनिन्

रमिला पढ्दै थिइन्। राम्रो पढेर भविष्य बनाउने विचार गरेकी रमिलाको आमाको निधन भएपछि पढाइ अगाडि बढ्न सकेन। उनका अनुसार आमाको अकस्मात् मृत्यु भएपछि बुबाले दोस्रो विवाह गरे

सुरुआती दिनमा सानीआमाले राम्रो व्यवहार गरे पनि पछि सौतेनी व्यवहार देखाउन थालिन्। तर पनि बुबाले केही समय हेरिरहेकै थिए। त्यसैले उनी बुबाले काठमाडौँ बोलाएको बेला आएकी थिइन्

काठमाडौँ आएपछि भने सौतेनी आमाले दुर्व्यवहार गर्न थालेको उनको अनुभव छ। “कुट्ने, सानो गल्तीमा पनि गाली गर्ने, उनका छोरीहरूले पनि हेप्ने एकदमै नराम्रो व्यवहार हुन थाल्यो। अनि मलाई राम्रो लागेन। यहाँ बसेर हुँदैन भन्ने लाग्यो,” उनले भनिन्

आमा छँदा रमिलाले बुबाबाट भरपूर माया पाएकी थिइन्। तर आमाको मृत्युपछि बुबा पनि टाढिँदै गए। आफ्नै बुबाले समेत सौतेनी आमाको दुर्व्यवहार रोक्न नसकेपछि उनले कतैबाट माया पाइनन्

यही बिचमा एकदिन फेसबुक चलाइरहँदा एक व्यक्तिको ‘फ्रेन्ड रिक्वेस्ट’ आयो। पारिवारिक माया नपाएकी रमिलालाई ती अनजान व्यक्तिले निकै ख्याल गर्न थालेपछि उनीहरूबिच प्रेम बस्यो

भर्खरै मात्र युवावस्थामा प्रवेश गरेको यो जोडी अन्त्यमा भागेर विवाह गर्न पुग्यो। उनी भन्छिन्, “२०७७ सालमा हामीले विवाह गरेका हौँ। हाम्रो उमेर लगभग एउटै छ। फेसबुकबाट चिनजान भयो, पछि माया बस्यो अनि बुबा-सानीआमालाई थाहै नदिई भागेर विवाह गरेँ।”

उक्त तालिममा सहभागी चेपाङ समुदायकै अर्की पात्र हुन्, सबिना। ६ महिनाको छोरो च्यापेर आएकी सबिना उमेरले मात्र १७ वर्ष पुगिन्। उनको पनि फेसबुकबाटै चिनजान भएर विवाह भएको थियो। उनी भन्छिन्, “मैंने फेसबुकबाट चिनेकी हुँ। त्यसपछि भागेर विवाह गर्यौँ। अहिले ६ महिनाको बाबु छ।”

गरीबी र अशिक्षाका कारण चेपाङ समुदायका अधिकांशको अवस्था यस्तै छ- सानै उमेरमा विवाह र सानैमा काँधमा आउने ठूलो जिम्मेवारी

बालविवाह रोक्न सरकारले राम्रै लगानी गरेको छ। आर्थिक कारबाहीदेखि जेलसम्मको कानुनी व्यवस्था भए पनि सरकारी लगानी र कार्यक्रम लक्षित वर्गसम्म पुग्न नसक्दा चेपाङ समुदायका बालबालिकाहरू सानै उमेरमा विवाह गर्न विवश छन्

त्यति मात्र होइन, उमेर नपुगी गर्भाधारण गर्दा कैयौँ बालिकाहरूको अकालमै मृत्यु हुने घटनाहरूसमेत घट्ने गरेका छन्। सरकारले लगानी गरे पनि परिणाममा ध्यान नदिँदा समाजमा रमिला र सबिना जस्ता पात्रहरूको अवस्थामा कुनै परिवर्तन आउन सकेको छैन

सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने सरकारी लक्ष्य: के भन्छ तथ्यांक?

नेपाल सरकारले सन् २०३० सम्ममा देशव्यापी रूपमा बालविवाह अन्त्य गर्ने नीतिसहित अन्तर्राष्ट्रिय जगतमा प्रतिबद्धता जनाइसकेको छ। तर सरकारको यो लगानी बालुवामा पानी जस्तै भएको तथ्यांकले देखाउँछ

चेपाङ समुदायको अवस्था हेर्दा सरकारले अबको ४ वर्षमा तीव्र रूपमा काम नगर्ने हो भने अन्तर्राष्ट्रिय जगतमा देशको साख खस्कने निश्चित छ। हालसम्मको तथ्यांक हेर्दा चेपाङ समुदायमा बालविवाह रोक्न सरकारले प्रभावकारी काम गरेको देखिँदैन

International Journal of Silkroad Institute of Research and Training (IJSIRT) मा अनुसन्धानकर्ता मधुमाया पौडेल र कल्पना दुरालले सन् २०२५ को जुलाईदेखि डिसेम्बरसम्म तयार पारेको अध्ययन अनुसार शिक्षाकै कमीका कारण चेपाङ बालबालिकाको उमेर नपुगी विवाह भइरहेको छ

उक्त अध्ययन अनुसार बालविवाह रोक्न बालबालिकालाई शिक्षा प्राप्त गर्ने अवसर उपलब्ध गराउनु नै अभिभावकहरूको सबैभन्दा महत्वपूर्ण भूमिका भएको उत्तरदाताहरूको भनाइ छ

यस्तो विचार राख्ने ९५.९ प्रतिशत रहेका छन्। त्यसैगरी ८६.७ प्रतिशतले यसमा समुदायको जिम्मेवारी रहने बताएका छन् भने ८७.८ प्रतिशतले समुदाय नै सक्रिय हुनुपर्ने मत राखेका छन्

उक्त अनुसन्धानमा सहभागी ९८ जनामध्ये अधिकांश अर्थात् ७९.६ प्रतिशत बालबालिकाको विवाह २० वर्ष वा सोभन्दा कम उमेरमा भएको पाइएको छ

अनुसन्धानमा ६२.२ प्रतिशत महिला र ३७.८ प्रतिशत पुरुष सहभागी थिए, जसमध्ये दुई तिहाइभन्दा बढी अर्थात् ७७.६ प्रतिशत विवाहित थिए। विवाहितमध्ये ६३.२ प्रतिशतले २० वर्षभन्दा कम उमेरमै विवाह गरेका थिए

उनीहरूको शैक्षिक स्तर हेर्दा आधाभन्दा बढी अर्थात् ६१.२ प्रतिशतले प्राथमिक तहसम्म मात्र अध्ययन गरेका थिए भने १४.३ प्रतिशत निरक्षर थिए

त्यस्तै, चेपाङ समुदायको शिक्षाका विषयमा सन् २०२२ मा गोपालप्रसाद ढकाल, उषा हमाल र नवीनप्रकाश अधिकारीले South Asian Research Journal of Humanities and Social Sciences मा प्रकाशित गरेको अध्ययन अनुसार १०५ जना चेपाङ समुदायका व्यक्तिमा गरिएको अनुसन्धानमा जम्मा १ जनाले मात्र उच्च शिक्षा हासिल गरेको देखिएको छ

आर्थिक अवस्था अनुसार चेपाङ समुदायको शिक्षाको अवस्था

क्र.सं. शिक्षा धनी वर्ग मध्यम वर्ग कमजोर जम्मा / प्रतिशत
अशिक्षित ९ (३५.७%) ९ (२५.०%) २५ (४२.४%) ४२ (४०%)
प्राथमिक तह ५ (६४.३%) १७ (५३.१%) २७ (४५.८%) ४९ (४६.६७%)
एसएलसी वा सोसरह ६ (१८.८%) ७ (११.९%) १३ (१२.३९%)
उच्च शिक्षा १ (३.१%) १ (०.९५%)
जम्मा / प्रतिशत १४ (१००%) ३२ (१००%) ५९ (१००%) १०५ (१००%)

(स्रोतः South Asian Research Journal of Humanities and Social Sciences बाट लिइएको अनुसन्धानमूलक डेटा। यो गैरसरकारी रिसर्च पेपरले चेपाङ समुदायको शैक्षिक अवस्थालाई प्रस्ट पार्छ।)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *