परिवर्तनलाई आत्मसात् गर्दै युवालाई अघि बढाउन देउवालाई विश्वप्रकाशको आग्रह

डिसी नेपाल
२९ साउन २०८३ १३:२७

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले परिवर्तनलाई आत्मसात् गर्दै युवा नेतृत्वलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति शर्माले विदेशबाट फर्किएका निवर्तमान सभापति देउवाले लिखित अभिव्यक्तिमार्फत परिवर्तनलाई आत्मसात् गर्ने र युवालाई अगाडि बढाउने विषय उल्लेख गरेको स्मरण गराए। उनले आगामी राष्ट्रिय सम्मेलनले पनि यही विषयलाई केन्द्रमा राख्नुपर्ने अपेक्षा व्यक्त गरे।

“हाम्रो अपेक्षा थियो- निवर्तमान सभापतिले बोल्दै गर्दा ‘म लामो समयपछि देश फर्किएको छु, सबैका कुरा सुन्न चाहन्छु’ भनिदिनुहुनेछ,” शर्माले भने, “यद्यपि, उहाँको लिखित अभिव्यक्ति आएको छ, जसमा परिवर्तनलाई आत्मसात् गर्ने र युवालाई अगाडि बढाउने कुरा गरिएको छ। अब हुने राष्ट्रिय सम्मेलनले पनि त्यसैलाई केन्द्रमा राखोस्।”

शर्माले देउवा पक्षलाई समेत संकेत गर्दै पार्टी केन्द्रले अघि सारेको नयाँ अभियान र रूपान्तरणको बाटोमा सबै एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने बताए। नेपाली कांग्रेस विधि, पद्धति र प्रक्रियामार्फत परिवर्तनको नयाँ अध्यायमा प्रवेश गरिसकेको दाबी गर्दै उनले विगतको भन्दा पृथक् ढंगले काम गरिरहेको यथार्थलाई पार्टीका प्रत्येक नेता-कार्यकर्ताले मनन गर्नुपर्नेमा जोड दिए।

यसैबिच, शर्माले वर्तमान सरकार असफल होस् भन्ने चाहना कांग्रेसको नरहेको स्पष्ट पारे। सामान्यतया प्रतिपक्षले सरकारको असफलता हेर्न चाहने भए पनि कांग्रेसले परिपक्व राजनीति प्रदर्शन गरिरहेको उनको भनाइ थियो।

सरकारको नीति तथा कार्यक्रम असफल हुँदा समाजमा निराशा छाउने भएकाले नै कांग्रेसले प्रतिनिधि सभामा विरोध गरिरहँदा पनि राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित गर्न सघाएको उनले स्मरण गराए। “सामान्यतया प्रतिपक्षीको स्वरमा सरकारको असफलताको अपेक्षा हुन्छ, तर हामी सरकारको असफलता चाहँदैनौँ,” उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *