पत्रकार श्रेष्ठलाई आजै रिहा गर्न सर्वोच्चको अस्वीकार, सोमबार उपस्थित गराउने आदेश
काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक पत्रकार किशोर श्रेष्ठलाई आजै थुनामुक्त (रिहा) गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
श्रेष्ठलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई बरामद गरिएका सामग्रीहरूसहित आगामी सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको हो।
शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पहिलो नम्बरमा पेसी तोकिएको उक्त रिटमाथि बहस गर्दै निवेदकका कानुन व्यवसायीहरूले श्रेष्ठलाई आजै थुनामुक्त गर्न अन्तरिम आदेशको माग गरेका थिए। तर, अदालतले पक्राउको कानुनी औचित्य र कागजातको अध्ययन गर्नुपर्ने जनाउँदै तुरुन्त रिहा गर्ने आदेश नदिई विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
अदालतले काठमाडौँ जिल्ला अदालत र जिल्ला प्रहरी परिसर काठमाडौँ (भद्रकाली) लाई किशोर श्रेष्ठलाई पक्राउ गर्नुको सक्कल फाइल, कानुनी आधार र जफत गरिएका बरामद सामग्रीहरूसहित आगामी सोमबार अदालतसमक्ष सशरीर उपस्थित गराउन निर्देशन दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरकान्त चौधरी र एक युवतीसँग जोडिएको तस्बिर/सामग्री ‘जनआस्था डटकम’मा प्रकाशन भएपछि वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरको आरोपमा प्रहरीले श्रेष्ठलाई गत बुधबार राति ललितपुरबाट नियन्त्रणमा लिएको थियो।
काठमाडौँ जिल्ला अदालतले बिहीबार उहाँलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो। उक्त पक्राउलाई गैरकानुनी र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै उहाँकी श्रीमती सरस्वती श्रेष्ठले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी हुन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment