तुलसीपुरमा मोटरसाइकल दुर्घटना : एक युवकको मृत्यु, दुई दाजुभाइ घाइते

डिसी नेपाल
२९ साउन २०८३ २१:१९

तुलसीपुर । दाङको तुलसीपुरमा विपरीत दिशाबाट आएका दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने दुई दाजुभाइ घाइते भएका छन्।

तुलसीपुर उपमहानगरपालिका–६ स्थित गुम्ह्राचोक र मदन आश्रित चोकको बीचमा शुक्रबार बिहान १० बजेर २५ मिनेट जाँदा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका–१४ ड्वाङपुर निवासी ३३ वर्षीय कमलेश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले जानकारी दिए। गम्भीर घाइते भएका चौधरीको बाँकेको नेपालगन्जस्थित न्यूरो हस्पिटलमा उपचारका क्रममा अपराह्न पौने ४ बजेतिर निधन भएको हो।

दुर्घटनामा परेर तुलसीपुर–६ का सहोदर दाजुभाइ ३० वर्षीय वसन्त बस्नेत र २५ वर्षीय विवेक बस्नेत घाइते भएका छन्। वसन्तले चलाएको लु.प्र.०२–००१ प ११४७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट बजारतर्फ आउँदै गरेका कमलेश सवार रा ३ प ८८५५ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका वसन्तको घाँटी नजिकको हड्डी भाँचिएकाले तुलसीपुरस्थित सिटी हस्पिटलमा शल्यक्रिया गरिएको छ भने अर्का भाइ विवेकको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक असिम हमालले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *