कविता : धर्म यात्रा
बजेन बाँसुरी
गाइएन गीत,
समय मूर्छित थियो
मान्छेहरू दुःखित थिए।
आलाप सुन्न कोही तयार थिएनन्,
आँखाबाट आँसु बर्सिरहेका थिए।
दुःखको समुद्र तर्न नसकेपछि
मान्छेहरू बगरमा अलपत्र थिए।
दमनको भारी थेग्न नसकी
मान्छेहरू आक्रोश पोख्दै थिए,
चौतारीमा थकाइ मार्दै
मान्छेहरू परिवर्तनको स्वर उराल्दै थिए।
मान्छेहरू वितृष्णामा थिए,
सपनाको पहाड ढलेपछि
चरम निराशा थियो,
खोसिएका थिए खुसीहरू।
विद्रोहको गीत गाउन नसक्दा
अनुहार पोतिएको थियो,
मान्छेहरू जाग्नै सकेनन्
विवशताको लट्ठीले टाउकोमा हानेपछि।
मैले मात्रै गाएर हुन्न मुक्ति-गीत,
मैले मात्रै लाएर हुन्न अम्बरी प्रीत,
मैले मात्रै भनेर हुन्न दुःखीहरूको जित।
मान्छेहरू उद्वेलित हुनै सकेनन्
चेतनाको बत्ती निभेपछि,
ईश्वरको प्रार्थना गर्दै
मान्छेहरू किन भ्रममा पर्छन्?
म त्यस्तो ईश्वरको खोजीमा छु-
जसले असमानताहरू दूर गर्दै
न्याय प्राप्तिको लडाइँ लडोस्।
मान्छेहरू स्वार्थले बलिरहेका छन्,
स्वार्थको आगो निभाई
दयाभाव व्यक्त गरोस्।
अनपेक्षित मृत्यु रोकी
मान्छेहरूलाई दीर्घ जीवन दिन सकोस्।
मानवता रोइरहेको छ,
संवेदना मरेको यो क्षण
मानवताको दुहाई दिन सकोस्।
न्याय-अन्याय छुट्याई
न्यायको तराजु उचालेर
अन्यायीलाई दण्डित गर्न सकोस्।
कतै छ त त्यस्तो ईश्वर?
यदि छ भने म भेट्न चाहन्छु,
फूलको थुँगा चढाई
पाउ पुज्नेछु
अनि गुञ्जाउनेछु
जयजयकारको ध्वनि
धर्म यात्रामा समाहित हुँदै।
– सुन्दरहरैँचा–६, दुलारी, मोरङ
No ads found for this position

डिसी नेपाल
Facebook Comment