जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत सञ्चालित हवाई उद्धार कार्यक्रमअन्तर्गत मुगुकी एक सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार गरिएको छ।
मुगुको खत्याड गाउँपालिका–११, रातापानी निवासी ३८ वर्षीया दिपा भण्डारी स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी भएपछि जटिल स्वास्थ्य समस्या देखिएको थियो। आमा र नवजात शिशुको स्वास्थ्य अवस्था जोखिममा परेपछि थप उपचारका लागि नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी सुविधा सम्पन्न प्रदेश अस्पताल, सुर्खेत ल्याइएको हो।
दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ। आकस्मिक तथा जटिल प्रसूतिको अवस्थामा आमा र नवजात शिशुको जीवनरक्षा तथा सुरक्षित उपचारमा पहुँच सुनिश्चित गर्न कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment