हेटौंडा बसपार्कमा पार्किङ विवादले उग्र रूप लिँदा चार जना घाइते, चार जना पक्राउ

डिसी नेपाल
३० साउन २०८३ ८:१४

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा गाडी पार्किङको विषयलाई लिएर भएको विवादमा धारिलो हतियार प्रहार हुँदा चार जना घाइते भएका छन्।

बुधबार बिहान करिब ११ः३० बजे पार्किङको विषयमा विवाद हुँदा मनहरी गाउँपालिका–१ मकरीका ३०÷३१ वर्षीय लक्ष्मण बर्तौलासहितको समूहले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा मनहरी गाउँपालिका–६ का २७ वर्षीय जीवन गोले, ओखलढुंगाको सिंहदेवी गाउँपालिका–७ का २८ वर्षीय राइज आले मगर, चितवनको राप्ती नगरपालिका–२ का ३२ वर्षीय रामबहादुर पाख्रीन र राप्ती नगरपालिका–४ का २८ वर्षीय जीवन तामाङ रहेका छन्।

प्रहरीका अनुसार गोले र आले मगरको ढाडमा चोट लागेको छ। गोलेको अवस्था मध्यम र आले मगरको अवस्था सामान्य रहेको छ। त्यस्तै, पाख्रीनको छाती तथा ढाडको पछाडिको भागमा चोट लागेको छ भने तामाङको दाहिने आँखामा भित्री चोट लागेको छ।

चारै जनाको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेकोमा राति ९ः१५ बजे थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुर, प्रहरी चौकी बसपार्क र वडा प्रहरी कार्यालय सानोपोखराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले लक्ष्मण बर्तौला, सुनिल थिङ, करन लामा र उज्ज्वल बर्तौलालाई नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *