पोखरामा विजयपुर खोलाले बगाउँदा दुई बालक बेपत्ता, खोजी कार्य जारी

डिसी नेपाल
३० साउन २०८३ १६:०३

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २६ र १४ को सीमास्थित सक्नेरीमा रहेको विजयपुर खोलाले बगाउँदा दुई जना बालक बेपत्ता भएका छन्।

वडा नम्बर १४ विजयबस्तीबाट विजयपुर खोला तर्ने क्रममा वडा नम्बर २६ सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकै उनीहरू बेपत्ता भएको कास्की प्रहरी प्रवक्ता तथा डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन्। स्थानीयले उनीहरूलाई खोलाले बगाएको प्रत्यक्ष देखेका थिए।

बेपत्ता हुनेमा स्याङ्जा घर भई पोखरा बस्ने १४ वर्षीय निक्सन राई र हालसम्म ठेगाना नखुलेका १५ वर्षीय अमन राई रहेका छन्। बेपत्तामध्ये निक्सनको परिवार सम्पर्कमा आइसकेको र अर्का बालक अमनको परिवारको खोजी तथा सम्पर्कको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गोताखोरसहित उद्धार तथा खोजी कार्यमा खटिएको छ। साथै, स्थानीय बासिन्दाको समेत सक्रिय सहयोगमा खोजी भइरहेको छ। तर, खोलामा पानीको सतह बढेका कारण खोजी कार्यमा केही कठिनाइ उत्पन्न भएको प्रहरीले बताएको छ।

उक्त विजयपुर खोला सक्नेरीबाट बग्दै वडा नम्बर २७ को मोरेखरेमा पुगेर सेती नदीमा मिसिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *