ग्यासका लागि लाइन बसेका उपभोक्ता भन्छन्- दालमोठ र चिउराले छाक टार्दैछौं

आकांक्षा धामी
३० साउन २०८३ १८:२२

काठमाडौं। खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री वितरण गरेको छ।

उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले ग्यास उद्योगीमार्फत बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास बिक्री गरिएको हो। ग्यास खरिदका लागि उपभोक्ताले अनिवार्य रूपमा नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको थियो।

बबरमहलबाट नेपाल, एचपी, एभरेष्ट÷सुगम, श्रीराम, सागर, हिमाल, लोकप्रिया र सूर्यलगायत ब्रान्डका ग्यास बिक्री गरिएको थियो। ग्यास वितरण हुने जानकारी पाएपछि बिहानैदेखि उपभोक्ताको उल्लेख्य भीड लागेको थियो।

ग्यास लिन पुगेका उपभोक्ताको संख्या बढ्दै गएपछि वितरणस्थलमा भीड व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो। पानी परेपछि समेत उपभोक्ताहरू रुझ्दै लामो समयसम्म लाइनमा बसेका थिए।

बबरमहलमा ग्यास लिन पुगेका मधुसुधन अधिकारीले आफू करिब ४५ मिनेटदेखि लाइनमा बसेको बताए। उनले यसअघि टेकु र साल्ट ट्रेडिङलगायतका स्थानमा ग्यास खोजे पनि सहज रूपमा पाउन नसकेको गुनासो गरे।

‘टेकु गएँ, त्यहाँ पनि भीड थियो। साल्ट ट्रेडिङमा तीन दिनभन्दा अगाडि ग्यास नपाइने रहेछ। पसलमा पनि १२–१३ ठाउँमा सोधिसकेँ, सबै पसल बन्द गरेर बसेका छन्,’ अधिकारीले भने, ‘अब सरकारलाई के भन्नु ? जुन सरकार आए पनि यस्तै हो।’

उनका अनुसार ग्यास अभावका कारण दैनिक खाना पकाउनसमेत समस्या भएको छ। ‘अहिले जसोतसो ओभनमा उमाल्ने चिजहरू उमालेर खाइरहेको छु,’उनले भने।

त्यस्तै, छत्रबहादुर कार्कीले आफू करिब एक घण्टादेखि लाइनमा बसे पनि ग्यास नपाएको बताए। घरमा ग्यास सकिएपछि खाना पकाउन नसकेको उनको भनाइ छ।

‘घरमा ग्यास अभाव भएर खाना पकाउन सकेका छैनौँ। दालमोठ र चिउरा खाएर बसेको अवस्था छ,’ कार्कीले भने, ‘ग्यास नपाएर जनता भोकै बस्नुपर्ने अवस्था नआओस्।’

अर्का उपभोक्ता किशोर श्रेष्ठले भने करिब दुई घण्टा लाइनमा बसेपछि ग्यास पाएको बताए। बिदाको दिन भएकाले ग्यास लिन आउने उपभोक्ताको संख्या धेरै भएको उनको भनाइ छ।

‘लामो समय लाइनमा बसेपछि ग्यास पाइयो। आज बिदाको दिन भएकाले ग्यास लिन आउनेको भीड धेरै छ,’ श्रेष्ठले भने, ‘ग्यास वितरण भइरहेको छ। विस्तारै सहज अवस्था आउँछ भन्ने विश्वास गरौँ।’

एलपी ग्यासको आपूर्ति नियमित हुन नसक्दा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पछिल्लो समय उपभोक्ताले अभाव र लामो लाइनको सामना गरिरहेका छन्।

शनिबार बबरमहलमा गरिएको वितरणले तत्कालका लागि केही उपभोक्तालाई राहत दिए पनि ठूलो संख्यामा उपभोक्ता ग्यासको प्रतीक्षामा रहेका देखिन्थे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *