विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो

डिसी नेपाल
३० साउन २०८३ १९:५३

कास्की। पोखराको विजयपुर खोलाले आज बगाएर बेपत्ता भएका दुई बालकको परिचय खुलेको छ।

बेपत्ता हुनेमा स्याङ्जाको बिरुवा गाउँपालिका–७ घर भई हाल पोखरा–१४ छिनेडाँडा बस्ने चन्द्रबहादुर गुरुङको छोरा १४ वर्षीय निकसन गुरुङ र खोटाङ स्थायी घर भई हाल पोखरा–१४ चाउथे बस्ने सुवास राईको १५ वर्षीय छोरा ओमन राई रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

उनका अनुसार बालकको खोजीका लागि विजयपुर खोलाको दुवैतर्फ प्रहरी परिचालन गरिए पनि फेला पार्न सकिएको छैन। “विजयपुर नहरको पानी बन्द गरेरसमेत बगाएका बालकको खोजी गरिरहे पनि केही फेला पार्न सकेका छैनौँ, खोजतलास भइरहेको छ”, सहायक प्रजिअ बरालले भने।

पोखरा–१४ को विजयबस्तीबाट विजयपुर खोला तरेर पोखरा–२६ सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रोपावर नजिक उनीहरूलाई दिउँसो १ः०० बजेतिर खोलाले बगाएको थियो।

घटनाको सूचनालगत्तै जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय शिशुवा, वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी खोजीमा खटिएका छन्।

यसैगरी, सशस्त्र प्रहरी बेसक्याम्प कुँडहरबाट खोताखोरसहित नौ जनाको टोली खोजी र उद्धारका लागि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *