संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

डिसी नेपाल
३० साउन २०८३ २२:२१

राँझा। नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। नेपालगञ्जको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ताल यतिबेला झाँडी, बुट्यान फैलिएर कुरुप बन्दै गएको छ।

स्थानीय चक्र बुढाले भने, ‘सौन्दर्यताका लागि नेपालगञ्ज उपमहानगरले करोडौँ खर्च गरेर निर्माण गरेको रेलिङ भत्किएका छन्। सुरक्षाका लागि सरोकार भएका निकायलाई पटकपटक खबर गरे पनि हालसम्म सुनुवाइ भएको छैन।’

कान्तितालमा विभिन्न पन्क्षीहरूको बासस्थान रहेकाले संरक्षणकर्मी तथा पर्यावरण संरक्षणमा चासो राख्नेले आवाज उठाइरहेका बेला तालको संरक्षणमा भने सरोकार भएका निकायले चासो नदिँदा समस्या भएको स्थानीय बताउँछन्।

नेपालगञ्ज उपमहानगरले ताल संरक्षण गरी पर्यटकीयस्थल बनाउन रु १० करोड खर्चेको कान्तिताल संरक्षणको अभावमा कुरूप र जीर्ण बन्दै गएको स्थानीय बुढाको भनाइ छ। ताल क्षेत्र अहिले लागूऔषध दुर्व्यसनीको जमघटस्थल बनेको भन्दै रातको समयमा शंकास्पद गतिविधि हुने गरेका स्थानीयको गुनासो छ।

तालको नियमित रेखदेख र सरसफाइको अभावमा करोडौँको लगानी गरिएको आयोजना अनुत्पादक र जीर्ण अवस्थामा पुगेको छ। नेपालगञ्ज उपमहानगरले विसं २०७५ मा कान्तिताललाई व्यवस्थित गरेर पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अघि बढाएको थियो।

ताल सञ्चालनका लागि वार्षिक२८ लाख उपमहानगरलाई राजस्व बुझाउने गरी ठेक्का लिएका ठेकेदार फनबहादुर गुरुङले लागूऔषध प्रयोगकर्ताहरूले रेलिङ तोडफोड गरेका हुनसक्ने बताए। यस विषयमा वास्तविकता खोजी गरिने उनको भनाइ छ।

यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले कान्तिताललाई व्यवस्थित गर्न उपमहानगरले नयाँ योजना बनाइरहेको बताए।

विगतमा ताल संरक्षणको लागि बनाइएका योजना सफल हुन नसकेकाले सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरी प्रभावकारी योजना बनाइ संरक्षणका लागि लागू गरिने उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *