भारतीय राजदूतावासमा मनाइयो स्वतन्त्रता दिवस

डिसी नेपाल
३० साउन २०८३ २२:५१

काठमाडौं। भारतको ८०औं स्वतन्त्रता दिवस यहाँस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम गरी मनाइएको छ।

‘वन्दे मातरम’ गायनसँगै शुभारम्भ गरिएको उक्त समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए। समारोहमा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले ८०औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधन प्रसारण गरिएको थियो।

सो अवसरमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका दिवङ्गत ११ कर्मचारीका श्रीमती र निकटतम नातेदारलाई सम्मान गरेका थिए। उनले कुल रु आठ करोड २० लाखको एजीआइएफ (आर्मी ग्रुप इन्स्योरेन्स फन्ड) चेक हस्तान्तरण गरेका थिए।

साथै स्वतन्त्रता दिवसको उपलक्ष्यमा दूतावासद्वारा आयोजित विविध प्रतियोगिताका विजेताहरूलाई सम्मान गरिएको थियो। दूतावासले नेपालका सातै प्रदेशका २२ शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेका थिए। यस पहलले शैक्षिक स्रोतहरूमा पहुँच बढाउने लक्ष्य राखेको छ।

समारोहमा नेपालमा रहेका भारतीय समुदायका सदस्यहरू, भारतका मित्रहरूका साथै दूतावासका अधिकारीहरू र उनीहरूका परिवारजनको सहभागिता रहेको थियो। सो अवसरमा दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीहरूले जीवन्त सांस्कृतिक प्रस्तुति तथा देशभक्तिपूर्ण गीतहरू पनि प्रस्तुत गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *