देशभर मनसुनी वायुको प्रभाव: सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

डिसी नेपाल
३१ साउन २०८३ ६:०७

काठमाडाैं। देशभर अहिले मनसुनी वायुको प्रत्यक्ष प्रभाव परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक अवस्थित छ।

यतिवेला देशभर साधारणतया बदली हुनुका साथै बागमती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कर्णालीका केही तथा कोशीका पहाडी भागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका सीमित क्षेत्रमा भारी वर्षा समेत भइरहेको छ।

आज दिउँसो र राति देशभरको मौसम साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै ठाउँमा र कोशी तथा बागमतीका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईतर्फ पनि लुम्बिनी र सुदूरपश्चिमका धेरै तथा अन्य प्रदेशका तराई क्षेत्रमा मध्यम वर्षा हुन सक्नेछ। देशका उच्च हिमाली भूभागमा भने मध्यम वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको छ।

गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षाको आँकलन गरिएको छ। विशेष गरी सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भने धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

विभिन्न प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्राकृतिक विपद्को जोखिम बढेको छ। वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र मौसम सम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *