अविरल वर्षाका कारण देशभरका दर्जनौँ राजमार्ग अवरुद्ध: बीपी र कान्ति लोकपथमा रात्रिकालीन आवागमन बन्द
काठमाडाैं। अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले बिहान ५:०० बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात सेवा प्रभावित भएको जनाएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक-सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा हरेक दिन साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै सवारीसाधनको आवागमनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बिहान ४:०० देखि बेलुका ६:०० बजेसम्म मात्र सवारीसाधन सञ्चालन गर्न पाइनेछ। यसैगरी, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म गाडी सञ्चालनमा रोक लगाइएको छ।
इलाम नगरपालिका-९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ, जहाँ हाल वैकल्पिक सडक प्रयोग भइरहेको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका-४ चारकिलो लिपिङमा सडक भासिँदा आवतजावत ठप्प बनेको छ। रसुवाको उत्तरगया–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि बन्द भएको छ।
यसैगरी, रुकुम पश्चिमको आठबिसकोट–६ स्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोले अवरुद्ध पारेको छ भने सङ्खुवासभाको भोटखोला–३ सिरेक डाँडामा सडक भासिँदा कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्डमा यातायात रोकिएको छ। लमजुङको मस्र्याङ्दी–४ रामबजारमा पहिरो खस्दा बेँसीसहर–मनाङ सडक र मुस्ताङको थासाङ–४ कैकुखोलामा पहिरो जाँदा बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।
त्यस्तै, रोल्पाको सुनिलस्मृति–४ कागडाँडामा पहिरोले भालुवाङ–लिवाङ सडक तथा चितवनको इच्छाकामना–५ सिमलधारामा रूखसहितको सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग पनि पूर्ण रूपमा ठप्प भएको छ। निरन्तरको वर्षाका कारण पहिरो, बाढी र सडक कटानको जोखिम कायमै रहेकाले आफू यात्रा गर्ने सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र आवश्यक सतर्कता अपनाउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment