रुकुमपश्चिममा पहिरोले वर्कसपमा क्षति, तीन घर जोखिममा

डिसी नेपाल
३१ साउन २०८३ १७:२४

रुकुम (पश्चिम) । केही दिनदेखि परेको अविरल वर्षाका कारण रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ शेरीगाउँमा पहिरो जाँदा वर्कसपमा राखिएका सवारीसाधनमा क्षति पुगेको छ। पहिरोका कारण आसपासका तीन घर जोखिममा परेका छन्।

आज दिउँसो मध्यपहाडी राजमार्गको सडक छेउमा धनबहादुर विकले सञ्चालन गर्दै आउनुभएको युग इन्जिनियरिङ वर्कसपमाथि एक्कासी पहिरो खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिए। पहिरोका कारण वर्कसपको एकतले जस्तापाता र फलामले बनेको ट्रस्ट भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको उनले बताए।

प्रहरी निरीक्षक परियारका अनुसार पहिरोले पदम केसीको रा१त ३७३६ र रा१त ३६१७ नम्बरका दुई ट्याक्टर च्यापिएका छन्। त्यस्तै, प्रविण डाँगीको बा१क २५०६ नम्बरको रोलर, मिक्स्चर तथा स्काभेटरका दुई वटा बकेटसमेत पहिरोले पुरिएका उनले जानकारी दिए। पहिरोका कारण बनिता मल्लको दुईतले पक्की घर, हरिबहादुर सुनारको एकतले टिनले छाएको घर र हेमबहादुर पाण्डेको दुईतले टिनले छाएको कच्ची घर जोखिममा परेका उनले जानकारी दिए।

प्रहरी, स्थानीयवासी र मुसिकोट नगरपालिकाको जेसिबीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। जोखिममा रहेका घरबाट सर्वसाधारण तथा घरभित्र रहेका सामानलाई सुरक्षित स्थानमा सार्ने कामसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *