आज नागपञ्चमीः घर-घरमा नागको पूजाअर्चना गरी मनाइँदै
काठमाडौं। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परा अनुसार नागको श्रद्धापूर्वक पूजाअर्चना गरी मनाइँदैछ। यस अवसरमा श्रद्धालुहरूले घरको मूलढोकामा विधिपूर्वक नागको चित्र वा फोटो टाँसेर पूजा गर्ने गर्छन्।
यस वर्ष जेठ महिनामा अधिकमास परेका कारण सौरमासको हिसाबले भदौको पहिलो दिन यो पर्व परेको हो। घरको ढोकामा नागको तस्बिर टाँस्नाले वर्षभरि नाग, सर्प, बिच्छी जस्ता घिस्रने जीवको भय नहुने र अग्नि, मेघ एवम् चट्याङबाट समेत जोगिन सकिने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिनुभयो।
नाग पूजाको इतिहास वैदिक कालदेखि नै सुरु भएको मानिन्छ। वैदिक मान्यता अनुसार नागलाई सर्पका राजा मानिन्छ। नाग रुष्ट भएमा जलको अभाव हुने भएकाले पानीको व्यवस्था सहज होस् भनी नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा बसेको हो। वराहपुराणमा उल्लेख भए अनुसार श्रावण शुक्ल पञ्चमीका दिन नागराज र ब्रह्माबीच संवाद भएकाले पनि यो दिन नागपूजाका लागि विशेष प्रसिद्ध रहेको छ।
प्रत्येक घरको जगमुनि नागको वास रहने धार्मिक मान्यता छ। यदि घरको जगमा रहेका नाग रिसाएर छाडेर गएमा घरको जग नै भत्कन्छ भन्ने विश्वासका कारण पनि यो परम्पराले निरन्तरता पाउँदै आएको हो।
सनातन धर्ममा नागलाई भगवान् विष्णु र शिवकै रूप मान्ने गरिन्छ। भगवान् शिवले नागको माला धारण गर्ने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै देवलाई नागका रूपमा पूजिन्छ।
त्यस्तै, प्रथम पूज्य भगवान् श्री गणेशको एक हातमा नाग रहेको छ। विष्णुका अवतार रामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई शेषनागकै अवतार मानिन्छ। श्रीकृष्णले बाल्यकालमा कालीनागको दमन गरेको कथा पुराणहरूमा चर्चित छ। विष्णुको नवौँ अवतार मानिने भगवान् बुद्धको मूर्तिको शिरमा पनि सर्पाकार मुकुट हुन्छ।
मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ भने जैन तीर्थङ्करहरूको शिरमा पनि सर्पाकार मुकुट नै हुन्छ। धर्मशास्त्रमा पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको उल्लेख छ। नागको पूजा हुने घरमा लक्ष्मीको स्थायी वास हुन्छ भन्ने सामाजिक मान्यता रहँदै आएको छ।
नागपञ्चमीको सुरुआतबारे एउटा प्रसिद्ध किंवदन्ती छ-एक किसानले खेत खन्ने क्रममा नागका तीनवटा बच्चा भेट्टाएर मारिदिएछन्। आहारा खोजेर फर्केकी नागिनीले आफ्ना बच्चा मरेको देखेपछि क्रुद्ध बनेर किसान, निजकी श्रीमती र दुवै छोराको हत्या गरिदिइन्।
त्यस बेला घरबाहिर रहेकी किसानकी छोरी मात्र बच्न सफल भइन्। नागिनीले उनलाई पनि मार्न खोज्दा छोरीले नमार्न अनुनयविनय गर्दै नागिनीको पूजाआजा गर्ने र दूध खुवाउने वचन दिइन्।
किसानकी छोरीले शोडषोपचारले नागिनीको पूजा गरी कचौरामा दूध दिइन्। उनको भक्तिबाट प्रसन्न भएकी नागिनीले वर माग्न भन्दा उनले आफ्ना आमाबुबा र भाइहरूलाई जीवनदान मागिन्। नागिनीले ‘तथास्तु’ भन्दै किसान परिवारलाई पुनर्जीवन दिइन्। नागिनीले किसान परिवारलाई बचाएको दिन श्रावण शुक्ल पञ्चमी नै भएकाले त्यसै समयदेखि घरमा नाग टाँसेर पूजा गर्ने चलन चलेको विश्वास गरिन्छ।
अर्को प्रसङ्ग अनुसार, गुरु गोरखनाथले नौ नागको आसन बनाएर १२ वर्षसम्म तपस्या गर्दा नाग थिचिएर पानी पर्न छाडेको थियो। पछि गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएपछि गुरुको दर्शन गर्न गोरखनाथ उठे र नागहरू मुक्त भई वर्षा भएको कथा पनि शास्त्रमा पाइन्छ।
संसारकै सबैभन्दा बहुमूल्य मानिने मणि नागले नै शिरमा धारण गर्छन्। नागलाई श्रीखण्डको सुगन्ध र सङ्गीत औधी मन पर्छ। गर्मीका कारण दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमीका दिन वर्षाको शीतलता पाएर बाहिर निस्कन्छन् भन्ने मान्यता पनि छ।
नागका अनेकौँ नाम भए पनि मुख्य रूपमा आठ कूलका आठ नाग-अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्खको पूजा गर्ने परम्परा छ। आजका दिन ब्राह्मण पुरोहितबाट यी नागको पूजा गराई घरको ढोकामाथि टाँस्ने गरिन्छ। नाग टाँसिएपछि खेतबारीमा खनजोत नगर्ने र नाग वा सर्प जस्ता जीवलाई मार्न नहुने मान्यता छ।
आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नागथानहरूमा श्रद्धालुको विशेष उपस्थिति रहन्छ। त्यहाँ नागको पूजा गर्दै गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका प्रसाद चढाउने गरिन्छ।
वैज्ञानिक दृष्टिले पनि प्रकृतिमा रहेका विषालु पदार्थलाई नाग र सर्प जस्ता जीवले शोषण गरी मानव तथा अन्य प्राणीलाई त्यसको असरबाट जोगाउने तथ्य अनुसन्धानले पुष्टि गरेको छ। यही कारण ऋषिमुनिहरूले नाग जातिको पूजा गर्ने संस्कृति बसालेको मानिन्छ। नागपञ्चमीको आगमनसँगै वैदिक सनातनी हिन्दू धर्मावलम्बीहरूका चाडबाडको मौसम औपचारिक रूपमा सुरु हुने गर्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment