टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’को परीक्षा: टोलीसामु अवसरको सदुपयोग गर्ने चुनौती
काठमाडौं। अष्ट्रेलियामा सञ्चालन हुने प्रतिष्ठित टप एन्ड टी-२० सिरिजमा नेपालले दोस्रोपटक आफ्नो सहभागिता जनाउने भएको छ। यसअघि सिनियर टोलीले भाग लिएको यस प्रतियोगितामा यसपटक भने नेपाल क्रिकेट संघ (क्यान)ले सिनियर टोलीको सट्टा नेपाल ‘ए’ टोलीलाई मैदानमा उतार्ने निर्णय गरेको हो।
अनिलकुमार साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा अनुभवी र युवा प्रतिभाहरूको राम्रो मिश्रण रहेको छ। टोलीको सन्तुलन मिलाइएकाले प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्नेमा प्रशिक्षक र खेलाडीहरू दुवै उत्तिकै आशावादी देखिएका छन्।
नेपाली क्रिकेटको बलियो जग बनाउन ‘ए’ टिमको भूमिका महत्त्वपूर्ण: प्रशिक्षक बस्न्यात
नेपाल ‘ए’ टोलीका मुख्य प्रशिक्षक राजु बस्न्यातले खेलाडीहरूले पर्याप्त तयारी गरेकाले अष्ट्रेलियामा सकारात्मक नतिजा ल्याउने सम्भावना बलियो रहेको बताएका छन्। त्यहाँको पिच र मौसमसँग घुलमिल हुन केही चुनौती रहे तापनि खेलाडीहरूले आफ्नोतर्फबाट उत्कृष्ट प्रदर्शन दिनेमा उनी पूर्ण रूपमा विश्वस्त छन्।
“हामीले पछिल्लो १०-१२ दिनदेखि निरन्तर र कडा अभ्यास गरिरहेका थियौँ। टोलीको तयारी र संरचना दुवै निकै राम्रो छ। टोलीभित्र अनुभवी खेलाडीसँगै नयाँ युवा खेलाडीहरूको उत्कृष्ट सहभागिता छ।
अष्ट्रेलिया बसाइका क्रममा टी-२० र ५० ओभर दुवै ढाँचाका खेलहरूमा राम्रो प्रदर्शन गर्ने हाम्रो प्रयास रहनेछ। त्यहाँको परिस्थितिलाई आत्मसात् गर्दै नेपाल ‘ए’का खेलाडीले उत्कृष्ट खेल प्रस्तुत गर्नेमा म आशावादी छु,” मुख्य प्रशिक्षक बस्न्यातले टोलीको बिदाइ कार्यक्रममा भने।
यसका साथै उनले दीर्घकालीन रूपमा नेपाली क्रिकेटलाई मजबुत बनाउन ‘ए’ टोलीको अवधारणा निकै प्रभावकारी हुने उल्लेख गरे। “दीर्घकालीन रूपमा हेर्ने हो भने नेपाल ‘ए’ टिमको अवधारणा एकदमै सह्रानीय छ।
पछिल्लो समय ‘ए’ टिमबाट नयाँ खेलाडीहरू सिनियर टोलीमा प्रवेश गरिरहेका छन् भने लय गुमाएका सिनियर खेलाडीहरू पनि पुनः लय समात्न ‘ए’ टिममा आउने अभ्यास भइरहेको छ। यसले नेपाली क्रिकेटको समग्र क्षमता र स्ट्रेन्थ बढाउन ठूलो मद्दत पुर्याउँछ,” उनले थपे।
उत्कृष्ट तयारीका साथ अस्ट्रेलिया जाँदैछौँ: कप्तान अनिल साह
नेपाल ‘ए’ टोलीका कप्तान अनिलकुमार साहले फरक-फरक रणनीति अनुसार अभ्यास गरिएकाले टप एन्ड टी–२० सिरिजमा उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरे। अष्ट्रेलियाजस्तो ठाउँमा यत्तिको ठूलो प्रतियोगिता खेल्न पाउनु आफूहरूका लागि निकै उत्साहजनक रहेको उनले बताए।
“मुख्य प्रशिक्षकको प्रत्यक्ष निगरानीमा हामीले पछिल्लो ८-१० दिनदेखि लगातार प्रशिक्षण गरिरहेका थियौँ। अष्ट्रेलियाको परिस्थिति र कन्डिसनलाई ध्यानमा राखेर कसरी खेल्ने भन्नेबारे योजनाबद्ध तयारी गरेका छौँ। नेपाल ‘ए’ टोलीका लागि यो अष्ट्रेलिया भ्रमण अत्यन्तै महत्त्वपूर्ण छ,” कप्तान साहले भने, “छोटो समय सीमाका बाबजुद क्यानले बन्द प्रशिक्षणको आयोजना गरेर ठूलो सहयोग गर्यो। टप एन्ड टी-२० जस्तो महत्त्वपूर्ण सिरिजमा सहभागी हुने वातावरण मिलाइदिएकोमा क्यानलाई धन्यवाद दिन चाहन्छु। हामी यो अवसरलाई पूर्ण रूपमा सदुपयोग गर्न आतुर छौँ।”
अघिल्लो नतिजामा सुधार गर्ने मुख्य लक्ष्य
नेपालले टप एन्ड टी-२० सिरिजमा दोस्रोपटक सहभागी हुने अवसर पाएको हो। यसअघिको संस्करणमा नेपालको सिनियर पुरुष टोलीले प्रतिस्पर्धा गरेको थियो।
उक्त संस्करणमा नेपालको प्रदर्शन सोचेजस्तो हुन सकेको थिएन; जहाँ लिग चरणका ६ खेलमध्ये नेपालले २ खेलमा जित र ४ खेलमा हार व्यहोरेको थियो। यसपटक भने नेपाल ‘ए’ टोलीले पूर्वप्रदर्शनमा सुधार गर्दै उपाधि नै जित्ने लक्ष्य राखेको छ।
सार्वजनिक खेल तालिका अनुसार नेपालले पहिलो खेल २१ अगस्टमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध खेल्नेछ। यसपछि २२ अगस्टमा बङ्गलादेश हाई पर्फर्मेन्स, २४ अगस्टमा होबार्ट हरिकेन्स, २६ अगस्टमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, २७ अगस्टमा हैदराबाद किङ्समेन एकेडेमी र २९ अगस्टमा भिक्टोरिया सिए–११ सँग प्रतिस्पर्धा गर्ने कार्यक्रम छ।
यो सिरिज सकिएलगत्तै नेपाल ‘ए’ टोलीले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अष्ट्रेलियासँग एकदिवसीय अभ्यास खेलहरूसमेत खेल्ने क्यानले जानकारी दिएको छ। नेपालको सिनियर टोली हाल एसिसी प्रिमियर लिगको तयारी र खेलमा व्यस्त हुने भएकाले क्यानले ‘ए’ टोलीलाई अष्ट्रेलिया पठाउने निर्णय लिएको हो।
अष्ट्रेलिया भ्रमणका लागि घोषित नेपाल ‘ए’ टोली:
अनिलकुमार साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, कुशल मल्ल, राशिद खान, पवन सर्राफ, दीपक डुम्रे, नारायण जोशी, आकाश चन्द, शाहब आलम, विपिन खत्री, रिजन ढकाल र युवराज खत्री।
No ads found for this position

डिसी नेपाल
Facebook Comment