लाखे नाचले इलामको पर्यटनमा सांस्कृतिक आकर्षण थप्दै
इलाम। प्राकृतिक सौन्दर्यका लागि परिचित इलाममा परम्परागत लाखे नाच सुरु भएसँगै यहाँको सांस्कृतिक पर्यटनमा समेत आकर्षण थपिएको छ। राणाकालदेखि मनाइँदै आएको लाखे नाचलाई इलामको ऐतिहासिक तथा मौलिक सांस्कृतिक पहिचानका रूपमा लिइँदै आएको छ।
नागपञ्चमीदेखि कृष्णाष्टमीसम्म मनाइने लाखे जात्रामा स्थानीय युवायुवतीदेखि वृद्धवृद्धासम्म सहभागी हुने गरेका छन्। नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजनामा सोमबारदेखि सुरु भएको लाखे नाच धार्मिकस्थल माईथानबाट सुरु भई मालापथ, चोकबजार, नवीन चोक, टुँडिखेल, धोबीधारा, नारायणस्थानलगायत बजार क्षेत्रका विभिन्न स्थानको परिक्रमा गर्ने गरिन्छ।
लाखे नाच हेर्न स्थानीयसँगै इलाम पुगेका पर्यटक तथा आगन्तुकसमेत सहभागी हुने गरेका छन्। प्राकृतिक पर्यटनसँगै स्थानीय कला, संस्कृति, जात्रा तथा परम्परालाई पर्यटनसँग जोड्न सके इलाममा पर्यटकको बसाइ अवधि बढाउन सकिने स्थानीयको अपेक्षा छ।
नेपाल भाषा तथा संस्कृति समाजका अध्यक्ष प्रविन श्रेष्ठले संस्कृति र परम्पराको संरक्षणसँगै नयाँ पुस्तालाई मौलिक सांस्कृतिक अभ्याससँग जोड्ने उद्देश्यले लाखे नाच आयोजना गरिएको बताए।
इलाममा नेवारी समुदायले मनाउँदै आएको यो जात्रा विसं १९६० देखि सुरु भएको बताइन्छ। सुरुमा नेवार समुदायको पर्वका रूपमा मनाइँदै आए पनि पछिल्लो समय लाखे नाच इलामको सांस्कृतिक पहिचान र सामाजिक एकताको प्रतीकका रूपमा स्थापित हुँदै गएको नेवार समुदायका अगुवाहरू बताउँछन्।
इलाम बजारसँगै जिल्लाका एकतप्पा, नामसालिङ, फिक्कल, दानाबारी र जितपुरलगायत क्षेत्रमा पनि लाखे नाच निकालिँदै आएको छ। परम्परागत जात्रा, स्थानीय संस्कृति र समुदायको सहभागिताले इलामको पर्यटनलाई थप विविध बनाउन सहयोग पुग्ने देखिन्छ।
इलाम चियाबारी, कन्याम, श्रीअन्तु, माइपोखरीलगायत प्राकृतिक तथा पर्यटकीय गन्तव्यका कारण पर्यटकको रोजाइमा पर्दै आएको छ। यस्ता गन्तव्यसँगै स्थानीय सांस्कृतिक पर्व तथा जात्रालाई पर्यटन प्रवद्र्धनसँग जोड्न सके इलामको सांस्कृतिक पर्यटनको सम्भावना अझ विस्तार गर्न सकिने स्थानीय पर्यटन व्यवसायीहरूको भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment