काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै, अनावश्यक सञ्चय नगर्न निगमको आग्रह
काठमाडौँ — नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति क्रमिक रूपमा सहज बन्दै गएको स्पष्ट पार्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ। हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी मात्रामा सिलिण्डर आपूर्ति भइरहेकाले केही दिनभित्रै बजारको सम्पूर्ण अवस्था पूर्णतया सामान्य हुने निगमले जनाएको छ।
निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार काठमाडौँ उपत्यकामा प्रतिदिन औसत ३५ देखि ३७ हजार सिलिण्डर ग्यासको माग रहने गरेको छ। तर, हाल मागभन्दा पाँच हजारदेखि आठ हजार सिलिण्डर बढी आपूर्ति भइरहेको छ।
निगमको तथ्यांक अनुसार भदौ २ गते मात्रै उपत्यकाका २२ वटा ग्यास उद्योगले ४७ हजार ३८८ थान सिलिण्डर बिक्री गरेका छन्। यसअघि भदौ १ गते उपत्यकामा ५२ हजार ५७६ थान सिलिण्डर बिक्री भएको थियो, जुन दैनिक औसत मागभन्दा करिब १५ हजारले बढी हो। त्यसैगरी, पछिल्लो एक साताअर्थात् साउन २७ गतेदेखि भदौ २ गते साँझसम्म कुल तीन लाख नौ हजार ५५३ वटा सिलिण्डर बजारमा बिक्री भइसकेका छन्। यो अवधिमा दैनिक औसत ४४ हजारभन्दा बढी सिलिण्डर खपत भएको निगमले जनाएको छ।
उद्योगी व्यवसायीका अनुसार अहिले ग्यासको समस्या हुनुको मुख्य कारण आपूर्तिमा आएको कमी होइन। गत फागुनमा बाह्य कारणले ग्यास आयातमा केही कमी आएपछि सरकारले समस्या समाधानका लागि आधा भरिएका सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको थियो। त्यसैको मनोवैज्ञानिक असर अहिले देखिएको हो, तर यो समस्या अब धेरै दिन नटिकाउने सरोकारवालाहरूको भनाइ छ।
एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले सोमबारदेखि डिलरमार्फत नै सहज रूपमा ग्यास बिक्री वितरण सुरु गरिएपछि स्थितिमा धेरै सुधार आएको बताएका छन्। उनका अनुसार अबको एक साताभित्र बजारका सबै समस्या समाधान भई स्थिति पूर्णरूपमा सामान्य हुनेछ।
साउनमा मात्रै ४० लाखभन्दा बढी सिलिण्डर बिक्री
सामान्य अवस्थामा मुलुकभर दैनिक एक लाख १० हजारको हाराहारीमा सिलिण्डर बिक्री हुने गरेको छ। तर, चालु आर्थिक वर्षको साउन महिनामा मात्रै ५७ हजार ३१६ मेट्रिक टन अर्थात् ४० लाख ३६ हजार ३६४ थान एलपी ग्यास बिक्री भएको छ।
यो बिक्री गत आर्थिक वर्ष २०८२/८३ को साउनको तुलनामा करिब २९.३ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा ४४ हजार ३१८ मेट्रिक टन (३१ लाख २० हजार ९८६ थान) ग्यास बिक्री भएको थियो भने त्यसअघिको आव २०८१/८२ को साउनमा ४५ हजार ७३५ मेट्रिक टन (३२ लाख २० हजार ७७५ थान) ग्यास बिक्री भएको थियो।
चैतदेखि असारसम्मको आयात तथा बिक्रीको अवस्था
निगमका अनुसार गत चैत महिनामा ३८ हजार ८०० मेट्रिक टन ग्यास आयात भएको थियो, जसमा विभिन्न उद्योगमार्फत ५४ लाख ६४ हजार ७८९ थान आधा भरिएका सिलिण्डर बिक्री भएका थिए। तुलनात्मक रूपमा २०८१ साल चैतमा ४८ हजार ३२७ मेट्रिक टन ग्यास आयात हुँदा ३४ लाख तीन हजार ३१० वटा पूरा भरिएका सिलिण्डर बिक्री भएका थिए।
त्यसैगरी, गत वैशाखमा ३२ हजार ५६ मेट्रिक टन ग्यास आयात भएको थियो भने अघिल्लो वर्षको वैशाखमा ४६ हजार ५०३ मेट्रिक टन आयात भएको थियो। यसैगरी, यस वर्षको जेठमा ३३ हजार ८४२ मेट्रिक टन र गत वर्षको जेठमा ४९ हजार ८१६ मेट्रिक टन ग्यास आयात भएको थियो। यसैगरी, यस वर्षको असारमा ४४ हजार ५४४ मेट्रिक टन ग्यास आयात भएको छ भने गत वर्षको सोही अवधिमा ४७ हजार ९३३ मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment