बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट

डिसी नेपाल
२ भदौ २०८३ २२:२५

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा बर्डफ्लू सङ्क्रमणका कारण हालसम्म ३० कृषकको पन्क्षीमा लाखौँको क्षति पुर्‍याएको छ। बर्डफ्लू सङ्क्रमणले क्षति पुगेका कृषकलाई क्षतिपूर्ति दिलाउन थालिएको जिल्ला पशुसेवा कार्यालय धुलिखेलले जनाएको छ।

कार्यालयका अनुसार हालसम्म २० कृषकले क्षतिअनुसारको क्षतिपूर्ति प्राप्त गरिसकेका छन्। बाँकी १० कृषकको क्षतिपूर्ति रकम चालु आर्थिक वर्षमा दिइने कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक ब्रजकिशोर ठाकुरले बताए।

उनका अनुसार विभिन्न मितिमा बर्डफ्लू प्रमाणित भएका ३० कृषकका खोरमा रहेका कुखुरा तथा अन्य पन्क्षी नष्ट गरिएको थियो। बर्डफ्लू प्रमाणित भएका ३० कृषकमध्ये २० ले गत आर्थिक वर्षको अन्त्यतिर राहत रकम प्राप्त गरिसकेको जनाइएको छ।

कार्यालयका अनुसार काभ्रेपलाञ्चोकमा गिरिराज कुखुरा, लेयर्स, ब्रोइलर, राजहाँस, स्थानीय कुखुरा र पेकिङ हाँसलगायत गरी ९० हजार २७५ पन्क्षी नष्ट गरिएको छ। यस्तै ३८ हजार १८३ अण्डा, १० हजार २१० केजी दाना र पाँच हजार २७५ क्रेट नष्ट गरिएको हो। विशेषगरी जिल्लाको बनेपा, पनौती तथा पाँचखाल क्षेत्रका विभिन्न फर्ममा बर्डफ्लु सङ्क्रमण पाइएको थियो।

बर्डफ्लु महामारीले काठमाडौं उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोकलाई समेत प्रभावित बनाएको थियो। कोशी प्रदेशबाट २०८२ चैतमा सुरु भएको उक्त महामारी गत असार मसान्तसम्म काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लामा फैलिएको थियो।

उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोकमा बिपी तथा अरनिको राजमार्गका साथै अन्य सहायक सडक र खुला नाकाबाट भित्रिने पन्छीजन्य सामग्रीका कारण बर्डफ्लुको जोखिम बढेको थियो। बर्डफ्लू प्रमाणित हुन समय लाग्ने, प्रमाणित पन्क्षी नष्ट गर्न पनि समय लाग्ने तथा अन्य विविध कारणले कृषक सङ्कटमा परेको ठाकुरले बताए।

मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र अन्य खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जङ्गली चरामार्फत सङ्क्रमण थप फैलिएको निष्कर्ष निकालिएको ठाकुरको भनाइ छ। कार्यालयले सङ्क्रमण नियन्त्रणनार्थ परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको ठाकुरले बताए।

ठाकुरका अनुसार व्यावसायिक पोल्ट्री फार्ममा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ लागू लगाइ कुखुराको खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्ने, प्रवेश गर्नु परे सुरक्षाका उपाय अपनाउने, खोर तथा उपकरण नियमित रूपमा सफा राख्न र कुखुरा ओसारपसार गर्दा पूर्ण सरसफाइका मापदण्ड पालना गर्न लगाइएको थियो।

हाल पनि जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिना तथा अवैध रूपमा ओसारपसार हुने कुखुराको निगरानी र नियन्त्रणलाई कडाइ गरिएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *