झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा
काठमाडौं। लमजुङको सुन्दरबजार नगरपालिकास्थित आदर्श बाल माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नवराज केसीले झुटा विवरण पेस गरी माध्यमिक तहको स्थायी नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार केसीले यसअघि माध्यमिक तहको अस्थायी शिक्षक पदबाट राजीनामा दिएर प्राथमिक तहमा स्थायी नियुक्ति लिएका थिए। तर, शिक्षक सेवा आयोगले अस्थायी तथा विस्थापित शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा सहभागी गराउने गरी निकालेको विज्ञापनमा आफू विस्थापित शिक्षक भएको झुटा विवरण पेस गरी माध्यमिक तहको परीक्षामा सहभागी भएका थिए।
अनुसन्धानका क्रममा केसीले आफू विस्थापित शिक्षक नभएको तथा स्थायी शिक्षक भएपछि राजीनामा दिएको स्वयं स्वीकार गरेको आयोगले जनाएको छ।
विज्ञापनमा आवेदन दिने शिक्षक विस्थापित वा अस्थायी रूपमा कार्यरत रहेको विवरण सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट प्रमाणित गर्नुपर्ने व्यवस्था भए पनि केसीले पेस गरेको झुटो विवरण तत्कालीन जिल्ला शिक्षा कार्यालयका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेले स्वीकृत गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
आयोगले केसी र न्यौपानेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुरजन्य भएको ठहर गर्दै दुवै जनालाई कानुनबमोजिम सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment