गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी ढुङ्गाबाट निर्माण गरेको एक किलोमिटर लामो ‘धुर्कोट ग्रेटवाल’ पछिल्लो समय जिल्लाको नयाँ पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ। टाढाबाट हेर्दा विश्वप्रसिद्ध ग्रेटवालको झल्को दिने उक्त संरचना हेर्न तथा हिमशृङ्खलाको दृश्यावलोकन गर्न आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्दै गएको हो।
धुर्कोट गाउँपालिका-६ स्थित ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी ढुङ्गाको पर्खाल चिरेर निर्माण गरिएको पैदल मार्गलाई गाउँपालिकाले ‘धुर्कोट ग्रेटवाल’ नामकरण गरेको हो। उक्त संरचनाबाट चारैतिरका रमणीय दृश्यसँगै माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायत हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ।
विशेषगरी सार्वजनिक बिदाका दिन घुम्न, श्रव्यदृश्य सामग्री बनाउन, तस्बिर लिन, सामाजिक सञ्जालका लागि सामग्री बनाउन र प्राकृतिक दृश्यको आनन्द लिन जिल्लाभित्र तथा बाहिरबाट आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले बताए। उनका अनुसार ग्रेटवाल निर्माण भएपछि यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ।
अध्यक्ष पोखरेलले पर्यटकलाई कम्तीमा दुई दिनसम्म धुर्कोटमा बस्ने वातावरण बनाउने उद्देश्यले विभिन्न पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए। पैदलमार्ग निर्माण गर्दै जाने क्रममा संरचना ग्रेटवाल जस्तो देखिएपछि यसको नाम ‘धुर्कोट ग्रेटवाल’ राखिएको उनको भनाइ छ।
“धुर्कोटको पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक धुर्कोटकोट तथा सङ्ग्रहालय, विचित्र गुफा, बुढीकोट ग्रेटवाल, सहिद पार्क निर्माण गरी पर्यटकीय क्षेत्रलाई एकीकृत रूपमा विकास गर्ने पालिकको योजना छ। यसले आर्थिक गतिविधि चलायमान बन्नुका साथै रोजगारीका अवसर सिर्जना भई स्थानीयको आयआर्जन बढ्ने अपेक्षा छ”, अध्यक्ष पोखरेलले भने।
पालिकाका अनुसार धुर्कोट ग्रेटवाल निर्माणमा गाउँपालिकाको ७० प्रतिशत र सङ्घीय सरकारको ३० प्रतिशत लगानी रहेको छ। कुल रु तीन करोड २३ लाखको लागतमा निर्माण गरिएको उक्त संरचनाबाट पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार तथा व्यापारव्यवसायमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
यस क्षेत्रमा ऐतिहासिक धुर्कोटकोटमा विभिन्न पूर्वाधार निर्माण गरिएको छ भने बुढीकोट क्षेत्रमा आकर्षक ग्रेटवालसँगै विशाल शिवको मूर्ति, मन्दिर तथा अन्य मनोरञ्जनात्मक संरचनासमेत निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद पन्थीले बताए।
पर्यटकीय क्षेत्रलाई थप हराभरा र आकर्षक बनाउन गाउँपालिकाले ग्रेटवालको दायाँबायाँ तथा बुढीकोट क्षेत्रमा विभिन्न प्रजातिका दुई हजारभन्दा बढी बिरुवा रोपेको गाउँपालिका उपाध्यक्ष सीता गिरीले जानकारी दिए। पर्यटकीय पूर्वाधार र रोपिएका बिरुवाको संरक्षण तथा हेरचाहका लागि गाउँपालिकाले हेरालुको समेत व्यवस्था गरेको उनले बताए।
ग्रेटवाल हुँदै पैदलयात्रा गर्ने क्रममा नजिकै विशाल शिवको मूर्ति भएको स्थानमा पुग्न सकिन्छ। त्यहाँबाट गुल्मी जिल्लाको करिब ८० प्रतिशत भूभाग देख्न सकिने अध्यक्ष पोखरेलले बताए। अग्लो डाँडाबाट देखिने प्राकृतिक दृश्य, हरियाली वनजङ्गल र टाढासम्म फैलिएका हिमशृङ्खलाले पर्यटकलाई थप आकर्षित गर्ने स्थानीय चुरा भण्डारीले बताए। सामाजिक सञ्जालमा तस्विर, भिडियो र टिकटक सार्वजनिक हुन थालेसँगै धुर्कोट ग्रेटवाल यतिबेला नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको हो। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment