पूरै विश्वमा चिनीको मूल्य किन बढिरहेको छ ?

डिसी नेपाल
७ भदौ २०८३ १३:३७

काठमाडौं । चाडपर्वको सिजन सुरु हुनुअघि नै चिनीको मूल्यवृद्धिले सर्वसाधारणको भान्सा महँगो बनाउँदै लगेको छ। बजारमा चिनीको अभाव प्रस्ट देखिएको छ। नेपालमा चिनी आपूर्ति गर्ने देश भारतमै चिनीको अभाव छ । अघिल्ला वर्षहरूमा विश्वभर चिनी निर्यात गर्ने देश भारत स्वयं अब चिनी आयात गर्ने तयारीमा जुटेको छ।

सरकारी अधिकारीहरूका अनुसार हाल चिनीको मूल्य बढ्नुमा धेरै कारणहरू एकैपटक जोडिन पुगेका छन्। जसमा आन्तरिक उत्पादन अनुमानभन्दा कम हुनु, चाडपर्वअघि मागमा वृद्धि हुनु, मौसम प्रतिकूलताका कारण उखु बालीमा क्षति पुग्नु, विश्वव्यापी रूपमा चिनीको आपूर्ति घट्नु र उद्योगका केही वर्गबाट भइरहेको सट्टेबाजी तथा कालोबजारी मुख्य रहेका छन्।

वर्तमान सिजनमा भारतमा चिनीको उत्पादन करिब ३०६ लाख मेट्रिक टन रहने अनुमान गरिएको छ, जबकि उखु उत्पादक राज्यहरूले सुरुमा ३४३ लाख मेट्रिक टन उत्पादन हुने प्रारम्भिक अनुमान गरेका थिए। उखु बालीमा ‘रेड रट’ र ‘टप बोरर’ जस्ता कीरा तथा रोगको प्रकोप देखिएको छ।

यसबाहेक समयअगावै भएको अत्यधिक वर्षा र डुबानका कारण पनि उखु बालीमा क्षति पुगेको छ। यद्यपि, उत्पादन अनुमानभन्दा कम भए तापनि अक्टोबरमा नयाँ पेलाइ (क्रसिङ) सिजन सुरु नभएसम्म आन्तरिक माग धान्न देशमा पर्याप्त चिनीको मौज्दात उपलब्ध रहेको दाबी सरकारको छ।

तर, चिनीको मूल्यमा आएको यो उछाल भारतमा मात्र सीमित छैन। चिनीको सङ्कट यतिबेला विश्वभर नै देखिन थालेको छ। विश्वमा सबैभन्दा बढी उखु खेती हुने देश ब्राजिलमा समेत चिनीको सङ्कट गहिरिँदै गएको छ। अमेरिकी कृषि विभागको तथ्याङ्क अनुसार ब्राजिलले विश्वको २४ प्रतिशत र भारतले १६ प्रतिशत उखु उत्पादन गर्छन्।

ब्राजिलले आफ्नो उखु उत्पादनलाई चिनीभन्दा बढी इथेनोल उत्पादनतर्फ मोडेपछि त्यहाँ पनि चिनीको अभाव सिर्जना भएको हो। ब्राजिलको राष्ट्रिय आपूर्ति कम्पनी ‘कोनाब’ का अनुसार त्यहाँ चिनी उत्पादनमा करिब ३ प्रतिशतले कटौती हुन सक्छ, अर्थात् यस वर्ष ब्राजिलमा चिनीको उत्पादन करिब ४३ मिलियन टन कम हुने अनुमान छ।

अर्को मुख्य कारण ‘एल निनो’ को प्रभाव हो, जसका कारण ब्राजिलको मध्य र दक्षिणी भागमा वर्षामा ढिलाइ र तापक्रम वृद्धि हुँदा उखु उत्पादन प्रभावित बनेको छ। विश्वलाई नै चिनी निर्यात गर्ने ब्राजिलका किसानहरू इथेनोलतर्फ आकर्षित हुनुले विश्वव्यापी चिनी आपूर्ति शृङ्खला (वर्ल्ड सुगर सप्लाई चेन) लाई नै प्रभावित पारिदिएको छ।

यसैगरी, अन्य देशहरूमा पनि मौसमकै कारण चिनीको मूल्य थप बढ्ने सम्भावना छ। ‘भेलोर इन्टरनेसनल’ को रिपोर्ट अनुसार यस वर्ष सक्रिय रहेको एल निनोले चिनी उत्पादन हुने प्रमुख क्षेत्रहरूमा नकारात्मक असर पारिरहेको छ। मौसममा आएको परिवर्तनले भारत र थाइल्यान्ड जस्ता उखु उत्पादक क्षेत्रहरूलाई प्रत्यक्ष असर पुर्‍याएको छ। विश्वको कुल उखु उत्पादनको ६ प्रतिशत हिस्सा ओगट्ने थाइल्यान्डमा एल निनोका कारण वर्षामा कमी आउने र उत्पादन घट्ने आशङ्का गरिएको छ।

अमेरिकी कमोडिटी बजारका अनुसार अमेरिकी ‘सुगर फ्युचर्स’ को मूल्य प्रतिपाउन्ड १७ सेन्टभन्दा माथि कारोबार भइरहेको छ र यो सन् २०२५ को मे महिनापछिकै उच्च विन्दु नजिक पुगेको छ।

विश्वव्यापी रूपमा चिनीको आपूर्ति अझ सीमित हुने सम्भावनाका कारण बजार मूल्यलाई बल मिलेको छ। यसबाहेक दशकौँपछिको शक्तिशाली एल निनोले उत्पादनसम्बन्धी जोखिमलाई थप बढािदिएको छ। विश्लेषकहरूले सन् २०२६/२७ मा विश्वभर चिनीको ठूलो अभाव हुने अनुमानलाई बढाएका छन्। उखु र चुकन्दरको रोपाइँ कम भएका कारण सन् २०२७/२८ मा यो सङ्कट अझ गहिरिने सम्भावना छ।

भारत, युरोपेली सङ्घ र थाइल्यान्डलाई प्रतिकूल मौसमका कारण सबैभन्दा बढी प्रभावित हुने जोखिमयुक्त क्षेत्र मानिएको छ। यसैबीच, कच्चा तेलको उच्च मूल्यका कारण ब्राजिल जस्ता प्रमुख चिनी उत्पादक देशहरूलाई उखुबाट चिनी बनाउनुको सट्टा इथेनोल उत्पादनतर्फ लाग्न प्रोत्साहन मिलिरहेको छ।

ब्राजिलले गत जुलाईको अन्त्यमा अनिवार्य इथेनोल मिश्रणको दर बढाएर ३२ प्रतिशत पुर्‍याएको छ, जुन एक महिनाअघि ३० प्रतिशत र एक वर्षअघि २७ प्रतिशत मात्र थियो। यसले बजारमा चिनीको उपलब्धतामा अझ कमी ल्याउनेछ, जसका कारण अन्तर्राष्ट्रिय बजारमा चिनीको माग र मूल्यमाथिको दबाब अझ बढ्ने देखिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *