रास्वपा कसरी आयो भन्ने हिसाब-किताब चोकचौतारामा दिएर हिँड्न जरुरी छैन : रवि लामिछाने

डिसी नेपाल
७ भदौ २०८३ १८:१६

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढाउँदै गर्दा विगतमा छुटेका राजनीतिक तथा संगठनात्मक विषयका अध्यायहरू अध्ययन र सिकाइका लागि फर्केर हेर्नुपर्ने बताएका छन्।

रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले रास्वपा जन्मिँदै अब्बल विद्यार्थी भएर जन्मिएको भए पनि कक्षा जम्प गर्दा छुटेका अध्यायहरू अध्ययन गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘रास्वपालाई जिम्मेवार ठाउँमा पुर्‍याउँदै गर्दा हामीले अध्ययन गर्नुपर्ने कतिपय कक्षाहरु जम्प गरेको पनि हुनसक्छ। कहिलेकाँही अब्बल विद्यार्थीहरुलाई दुईचार कक्षा चढाउने चलन पनि छ। रास्वपा जन्मिँदै अब्बल विद्यार्थी भएरै जन्मेको हो। तर कक्षाहरु जम्प गर्नुको अर्थ छुटाएका कक्षाहरुको अध्याय नै पढ्ने र सिक्ने होइन भन्ने होइन। छुटाएका कयौं अध्यायहरू छन् सरकारसम्म आइपुग्दा। यिनीहरूलाई फर्केर हेर्नैपर्ने हुन्छ। त्यसको लागि समय निकाल्नैपर्छ।’

त्यसका लागि पार्टी नै उपयुक्त प्लेटफर्म भएको उनको भनाइ थियो। उनले राजनीतिक दल राजनीतिक दल बन्नका लागि केही सामान्य सिद्धान्तहरू हुने र ती सिद्धान्तको बीचमा बसेर अनुशासनको घेराभित्र रही नीति तथा विधिको पालना गर्दै अघि बढेमा पार्टी दीर्घकालसम्म बलियो राजनीतिक शक्तिका रूपमा अघि बढ्ने बताए।

‘यसको उपयुक्त प्लेटफर्म भनेको पार्टी नै हो। पार्टीबाट नै सबै चिज रहन्छ। एउटा राजनीतिक दल राजनीतिक दल बन्नका लागि एउटा सामान्य केही सिद्धान्तहरु छन्। ती सिद्धान्तहरुको बीचमा बसेर अनुशासनको त्यो घेराभित्र रहेर, त्यो लक्ष्मण रेखाभित्र रहेर नीति, विधिलाई पालना गर्दै अगाडि बढियो भने यी कालान्तरसम्म निरन्तर एउटा बलियो राजनीतिक शक्तिका रुपमा अगाडि बढ्दछ,’ उनले भने।

लामिछानेले पहिलो महाधिवेशनबाट निर्वाचित तथा भर्खरै मनोनित नेताहरूको जिम्मेवारी आगामी दिनमा आउने नेताहरूको भन्दा बढी रहेको बताए। त्यसकारण उनीहरूले प्रशिक्षणमा अझ बढी समय खर्च गर्नुपर्ने उनको भनाइ थियो।

लामिछानेले रास्वपा अहिले पार्टीको जग बसाल्ने चरणमा रहेको बताए। स्थापनाकालदेखिका साथीहरू, संस्थापकहरू तथा पहिलो महाधिवेशनबाट निर्वाचित नेतृत्वको जिम्मेवारी पार्टीको भविष्य कति परसम्म जान्छ भन्ने विषयमा निर्भर रहेको उनले उल्लेख गरे।

‘हामी जग बसाल्ने ठाउँमा छौं। स्थापनाकालदेखिका साथीहरु, संस्थापकहरु र पहिलो महाधिवेशनबाट निर्वाचित भएका नेतृत्वको जिम्मेवारी यो राजनीतिक दलको भविष्य कति परसम्म जान्छ भन्ने कुरामा निर्भर गर्दछ,’ उनले भने।

रास्वपा कसरी आयो भन्ने विषयको हिसाब–किताब चोकचौतारामा दिँदै हिँड्न आवश्यक नरहेको भन्दै उनले पार्टीमा आइसकेपछि आफूहरूले के गरिरहेका छन् भन्ने विषयमा आमनागरिक र विश्व समुदायले हेरिरहेको बताए।

‘हामी कसरी आयौं अब त्यसको हिसाब–किताब चोकचौतारीमा दिएर हिँड्न जरुरी छैन। आइसकेपछि हामी के गर्दैछौं ? आमनागरिकले, विश्व समुदायले हेरिरहेको छ,’ उनले भने।

लामिछानेले आजको समयमा राजनीतिक दलको गतिविधि स्थानीय विषयमा मात्र सीमित नरहेको बताए। राजनीतिक दलका गतिविधि अन्तर्राष्ट्रिय विषयसमेत बन्ने भन्दै उनले एउटा कोठामा गरिएको कुराको प्रभाव संसारको अर्को निकै परको कुनासम्म पर्न सक्ने बताए।

‘आजको दिनमा राजनीतिक दल स्थानीय कुरो मात्र होइन, यो अन्तर्राष्ट्रिय विषय हो। एउटा कोठामा गरेको कुराको प्रभाव संसारको अर्को निकै परको कुनासम्म परिरहेको हुन्छ। यो कुरा हामीले जानेका छैनौं भने जान्नुपर्ने बाध्यता र त्यसको जिम्मेवारी पनि हामी आफैंको हो,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *