पहिरो प्रभावित बस्ती निरीक्षणमा सञ्चारमन्त्री तिमिल्सिना

डिसी नेपाल
७ भदौ २०८३ २०:०८

नुवाकोट। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नुवाकोटका विभिन्न स्थानमा गएको पहिरो र त्यसबाट प्रभावित बस्तीको स्थलगत निरीक्षण गरेका छन्।

नुवाकोट क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका सञ्चारमन्त्री तिमिल्सिनाले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पञ्चकन्या, शिवपुरी र लिखु गाउँपालिकाका विभिन्न स्थानमा भदौ ४ र ५ गते राति परेको अविरल वर्षाका कारण भएको क्षतिको अवस्थाबारे जानकारी लिएका हुन्।

निरीक्षणका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले पहिरो प्रभावित बस्तीका स्थानीयवासीसँग भेटघाट तथा अन्तरक्रिया गरी उनीहरूको अवस्था, समस्या र आवश्यकताबारे जानकारी लिए। प्रभावित परिवारले पहिरोको जोखिमका कारण घरमा फर्केर बस्न सक्ने अवस्था नरहेको भन्दै सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका थिए।

सञ्चारमन्त्री तिमिल्सिनाले स्थानीय सरकार र स्थानीय प्रशासनमार्फत भइरहेको उद्धार, राहत तथा व्यवस्थापनको अवस्थाबारे पनि जानकारी लिए। उनले तत्कालीन राहत र व्यवस्थापनसँगै पहिरोको जोखिममा रहेका बस्तीको दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको बताए।

‘प्रभावित क्षेत्रमा स्थानीय प्रशासनमार्फत भइरहेको उद्धार, राहत र व्यवस्थापनलगायतका कामबारे जानकारी लिएका छौं। पहिरोको जोखिमको जतिसक्दो चाँडो प्राविधिक अध्ययन गरी बसोबासका लागि उपयुक्त भए–नभएको यकिन गर्न पहल हुनेछ,’ उनले भने।

उनले जोखिमयुक्त बस्ती बसोबासका लागि अनुपयुक्त देखिएमा प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने र त्यसका लागि संघीय सरकारका तर्फबाट आवश्यक सहजीकरण गरिने बताए।

स्थलगत निरीक्षणका क्रममा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले सञ्चारमन्त्री तिमिल्सिनासहित जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवालालाई वडा नं. ३, ४ र ५ का विभिन्न स्थानमा गएको पहिरो तथा त्यसबाट भएको क्षतिको अवस्थाबारे जानकारी गराएका थिए।

भदौ ४ गते राति परेको अविरल वर्षाका कारण पञ्चकन्या गाउँपालिका–४ स्थित बोकेडाँडामा ११ घरपरिवार बसोबास गर्दै आएको बस्ती जोखिममा परेको छ। पहिरोका कारण बस्ती जोखिममा परेपछि प्रभावित परिवारले घर फर्केर बस्न सक्ने अवस्था नरहेको बताउँदै बस्ती नजिकै सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन माग गरेका छन्।

सञ्चारमन्त्री तिमिल्सिनाले प्रभावित परिवारको माग र अवस्थाबारे स्थानीय तथा जिल्लास्थित विपद् व्यवस्थापन समितिसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइने बताए। प्राविधिक अध्ययनका आधारमा जोखिमको अवस्था पहिचान गरी प्रभावितको सुरक्षित बसोबासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य गरिने उनको भनाइ थियो।

निरीक्षणका क्रममा तिमिल्सिनाले प्रभावित बस्तीको भौगोलिक अवस्था, पहिरोबाट भएको क्षति तथा स्थानीयवासीको तत्कालीन आवश्यकताबारे समेत जानकारी लिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *