प्रधानमन्त्री शाह तीन दिनदेखि गण्डकीमा

डिसी नेपाल
७ भदौ २०८३ २२:४९

गण्डकी । प्रधानमन्त्री बालेन्द्र शाह निजी भ्रमणका सिलसिलामा तीन दिनदेखि गण्डकी प्रदेशमा रहेका छन्। शुक्रबार पोखरा आएका प्रधानमन्त्री शाह शनिबार मुस्ताङ पुगेका थिए।

आज मुस्ताङबाट फर्किएका उनी पोखरामै बास बस्नुभएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । “प्रधानमन्त्रीको नितान्त पारिवारिक भ्रमण भएकाले हामीलाई पनि धेरै जानकारी छैन”, उनले भने, “आज उहाँ पोखरामै रहनुभएको छ, भोलि (सोमबार) काठमाडौं फर्कनुहुन्छ ।”

प्रधानमन्त्री शाह काठमाडौंदेखि सडकमार्ग हुँदै मुस्ताङ पुगेर फर्किएका हुन् । उनले शनिबार मुक्तिनाथ मन्दिर दर्शनसमेत गरेका थिए । निजी भ्रमण भएकाले प्रधानमन्त्री सरिक हुने कुनै औपचारिक कार्यक्रम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बास बस्नुभएका प्रधानमन्त्री शाह आज पनि पोखराकै एक रिसोर्टमा बस्नुभएको जनाइएको छ । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शुक्रबार निजी भ्रमणमा निस्किएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *