बागमतीका मुख्यमन्त्री किरण थापामगरले आज विश्वासको मत लिँदै, राप्रपाका १२ सांसदको भूमिकामा चासो
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापामगरले विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मतका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ । मुख्यमन्त्री थापामगरलाई सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेले विश्वासको मत दिने तयारी गरेका छन् । नेकपाले आफ्ना २६ जना प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।
नेकपा बागमती संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रदेश सभा सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री थापामगरको आफ्नै दल नेकपा एमालेले पनि आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन र विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
यता सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र भने विश्वासको मतलाई लिएर विवाद कायमै छ । राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले आइतबार ह्विप जारी गर्दै आफ्ना प्रदेश सभा सदस्यहरूलाई मुख्यमन्त्री थापामगरको विपक्षमा मतदान गर्न निर्देशन दिएकी छन् ।
तर, सरकार गठनमा समर्थन गरेको राप्रपा पक्षले भने तामाङलाई यसअघि नै प्रमुख सचेतकको जिम्मेवारीबाट हटाइसकेको दाबी गरेको छ । खानेपानीमन्त्री राजु विष्टले सरकार गठन हुनुअघि नै तामाङलाई सचेतकको जिम्मेवारीबाट हटाइएको बताएका छन् । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले तामाङलाई सचेतकबाट हटाएको दाबी गरिएको छ ।
नेकपा एमाले, नेकपा र राप्रपाको समर्थनमा थापामगर गत ४ भदौमा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएपछि राप्रपाको समर्थनलाई लिएर पार्टीभित्रै विवाद चर्किएको हो ।
पार्टी केन्द्रको निर्णयविपरीत मुख्यमन्त्री थापामगरलाई समर्थन गरेको भन्दै राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कारबाही गरिसकेको छ । यस्तै, सरकारमा सहभागी राप्रपाका तीन मन्त्रीलाई समेत पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेको छ ।
बागमती प्रदेश सभामा राप्रपाका १२ जना सदस्य छन् । उनीहरूले विश्वासको मतका क्रममा कस्तो निर्णय लिन्छन् भन्ने विषय अहिले सबैभन्दा चासोको विषय बनेको छ । राप्रपाभित्र दुई पक्षबीच देखिएको विवादका कारण मुख्यमन्त्री थापामगरले विश्वासको मत पाउने प्रक्रियामा उनीहरूको उपस्थिति र मतदान निर्णायक बन्न सक्ने देखिएको छ ।
आज दिउँसो बस्ने प्रदेश सभा बैठकले मुख्यमन्त्री थापामगरको सरकारलाई प्रदेश सभाको औपचारिक समर्थन कायम रहन्छ वा रहँदैन भन्ने टुंगो लगाउनेछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment